टेक्ने जमिन र ओतलाग्ने छाने नहुँदा अर्कैको बारीमा बास

चितवन, १५ माघ ।

लामो समयदेखि अरुको घरमा ज्याला मजदुरी गर्दै आएको एक परिवार त्यहाँबाट निस्किएसँगै विचल्लीमा परेको छ । चितवनको माडीमा जमिनदारको घरमा काम गर्दै आएका पूरन चौधरी अहिले परिवार सहित बेवारिसे अवस्थामा छन् ।
चितवनको रत्ननगर स्थित सडककिनारमा परिवार सहित भेटिएका पूरन चौधरी बस्ने बास नहुँदा समस्यामा परेका छन् । आफ्नो जमिन र नाममा केही पनि सम्पत्ति नहुँदा सडकको बास भएको चौधरीले गुनासो गरे । लामो समय जमिनदारको हली काम गरेको भएपनि छोराछोरी पढाउनका लागि काम खोज्दै निस्किदा विचल्लीमा परेको उनले बताए ।

‘कसैले काम देला र घरपरिवार चलाउँला भन्ने सोचेर माडी छोडेर हिडेँ’ चौधरीले भने, ‘तर न कतै काम पाएँ न राम्रोसँग बस्ने ठाउँको नै व्यवस्था भएको छ ।’ आफू पोखरीको डीलमा प्लाष्टिककले बारेर बस्दै आएको भन्दै चौधरीले गर्मी याममा हावाहुरीले त्यो छाप्रो पनि उडाउने हो कि भन्ने चिन्ता व्यक्त गरे । बाबुबाजेको पालादेखि नै आफू सुकुम्बासी भएको भन्दै घर बनाउने जग्गा मात्रै पाए पनि दुख गरेरै भए पनि परिवार पाल्ने उनको चाहना छ ।


चौधरीकी श्रीमती सुस्तमनःस्थितिकी छिन् । टाइफाइड बिग्रीएपछि उनी श्रीमती सुस्तमनःस्थितिकी भएकी हुन् । श्रीमतीले काम गर्न सक्दिनन् भने उनलाई १० वर्षीया छोरी दुर्गाले सघाउँदै आएकी छिन् ।
विद्यालय जाने उमेरमा घरधन्दा गर्दै बसेकी दुर्गा चौधरीले आफूलाई पढ्ने मन भएको बताइन् । दुई कक्षा पढ्दै गर्दा विद्यालय छोड्नुपरेको उनको गुनासो छ । पढ्नमा आफूलाई रुचि भए पनि आर्थिक अभावका कारण पढ्न नपाएको दुर्गाले गुनासो गरिन् । ‘म पढ्न विद्यालयमा जान्थेँ’ दुर्गाले भनिन्, ‘विद्यालय जाँदा समेत पैसा मागेर मलाई लखेटे अनि पढ्न जानै छोडेँ ।’
श्रीमती, तीन जना छोरासहित कहिले जङ्गल त कहिले सडककिनारमा बस्दै आएका चौधरीलाई स्थानीय अभियान्ता केपी किरण शर्माले उद्दार गरेर प्लाष्टिकको टहरोमा ओत लाग्ने ठाउँ बनाइदिएका छन् । वरिपरी पोखरी रहेको स्थानको सानो खाली ठाउँमा त्रिपालले बारेर पाँच जनाको परिवारले शिर ढाकेको छ । उनीहरुका लागि स्थानीय पालिकाले जग्गाको व्यवस्था गरिदिनुपर्ने स्थानीय शर्माले बताए ।
शिर ढाक्ने ठाउँ अस्थायी रुपमा बनाइदिएको भए पनि यसले जीवन निर्वाह नहुने भन्दै शर्माले स्थानीय पालिकाले ओइलेनी जग्गा उपलब्ध गराइदिएमा चौधरीका लागि घर आफूहरुले बनाइदिने बताए ।
घरबार नहुनेका लागि सरकारले अभिभावकत्व ग्रहण गर्दै बस्ने व्यवस्था मिलाउने भनेर कानुनले भनेको भए पनि चौधरी जस्ता धेरै व्यक्तिहरु बेवारिसे जीवन बिताउँदै आएका छन् । बलियो स्थानीय सरकार समेत रहेको बेलामा उनीहरुलाई बसोबासको व्यवस्था गर्नुपर्ने स्थानीय सरकारको समेत दायित्व हो ।