दुर्घटना न्यूनिकरण गर्ने नयाँ अभियानः चालकलाई सडकमै प्रशिक्षण

नवलपुर, १५ माघ ।

दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले नवलपुरमा दुई पाङ्ग्रे सवारी साधनका चालकका लागि सप्ताहव्यापी सडक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएकाे छ ।
गण्डकी प्रदेशमा नै सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रका रुपमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) रहेको तथा दुर्घटनामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन पर्ने भएका कारण यहाँ सचेतनामूलक कार्यक्रम गरिएको हो । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले दुई पाङ्ग्रे सवारी साधन चालकलाई सडकमै रोकेर पाँच मिनेटसम्म सडक सुरक्षाका बारेमा प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । नवलपरासीमा दैनिक जसो दुर्घटना भइरहेको र त्यसमा धनजनको क्षति समेत धेरै भएको पाइएकोले दुर्घटना र यसबाट हुने क्षति न्यूनिकरण गर्न प्रशिक्षण प्रभावकारी हुने ढकालले बताउनुभयो ।
प्रदेशका ११ वटा जिल्लामध्ये दुर्घटनाको सबैभन्दा बढी जोखिम नवलपुरमा भएको भन्दै ढकालले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनका चालकलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । “दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनका चालकलाई हामीले सडकको किनारमा रोक्छौँ” ढकालले भन्नुभयो, “उहाँहरुलाई सडक सुरक्षासम्बन्धी ज्ञानको बारेमा थप जानकारी गराउँछौँ । यस कारण दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण टेवा पुग्नेछ ।” सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी छैन भन्ने उद्देश्य नभइ उनीहरुसँग भएको ज्ञानलाई पुनर्ताजकी बनाउन अभियान सञ्चालन गरिएको ढकालले बताउनुभयो ।
कार्यक्रम शुभारम्भ गर्दै ढकालले सडकमा नै मोटरसाइकल रोकेर चालकहरुलाई प्रशिक्षण दिनुुभएको थियो । उहाँले ओभरटेक गर्दा लेन अनुशासन पालना गर्नुपर्ने, हेल्मेटको सेफ्टी क्लिप लगाउनुपर्ने, हतार गर्दा दुर्घटना हुनसक्ने भन्दै घरबाट निस्किदा केही छिटो निस्कनुपर्ने जस्ता विषयमा चालकलाई प्रशिक्षण गराउनुभएको थियो । यो कार्यक्रम जिल्लाको विभिन्न स्थानहरुमा एक सातासम्म सञ्चालन हुने समेत ढकालको भनाइ थियो ।
कार्यक्रममा नवलपरासी (बर्दघाट–सुस्तपूर्व)का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले सवारी साधन चलाउँदा हतारिन नहुने भन्दै सावधानी अपनाउन चालकहरुलाई आग्रह गर्नुभयो । जिल्लामा साइकल र मोटरसाइकलहरु बढ्दै गएकाले सवारी साधन चलाउँदा सजग हुन पङ्गेनीले आग्रह गर्नुभएको थियो । सडकमा पाँच मिनेट रोकिदा कुनै हतार नहुने भन्दै ट्राफिक प्रहरीले सिकाएको ज्ञानबारे समुदायमा समेत जानकारी गराउन उहाँले चालकहरुसँग आग्रह गर्नुभयो ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जिल्लामा ६७ किलोमिटर मुख्य राजमार्ग तथा धेरै सहायक मार्गहरु भएकाले सवारी साधन गुडाउँदा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । सवारी साधनको दुर्घटनालाई कम गर्न सकेमा धनजनको क्षति कम गर्न सकिने भन्दै उहाँले चालक सचेत भएको अवस्थामा ५० प्रतिशतभन्दा बढी दुर्घटना न्यूनिकरण गर्न सकिने बताउनुभयो । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीको आयोजनामा भएको कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले समन्वय गरेको छ ।