श्रम शोषण भएको भन्दै चितवनका नर्सहरु आन्दोलित

चितवन, १५ माघ ।
नेपालमा नर्सिङ पेसासँग आवद्ध नर्सहरुले नेपाल नर्सिङ दिवस मनाइरहँदा चितवनमा भने नर्सहरु श्रम शोषणमा परेको भन्दै आन्दोलनमा उत्रिएका छन् । अस्पतालले मापदण्डअनुसार तलब नदिएको, सेवा सुविधाको बारेमा आवाज उठाउँदा जागिर खोसिएको भन्दै चितवनका नर्सहरु आन्दोलित बनेका हुन् ।


चितवनका विभिन्न अस्पतालमा कार्यरत नर्सहरुले नर्सहरु माथि श्रम शोषण भएको भन्दै बिहीबार भरतपुरको चौबीसकोठीमा आन्दोलन गरेका हुन् । उनीहरुले प्लेकार्ड बेकेर चौबीस कोठीमा प्रदर्शन गरेका थिए । ‘नर्सको आत्मसम्मान खै’, ‘नर्समाथिको शोषण बन्द गर’, ‘नेपाल सरकारले तोकेको मापदण्ड अनुसार निजी अस्पतालको नर्सको तलब खै ?’ लगायतका प्लेकार्ड उनीहरुले प्रर्दशन गरेका थिए । प्लेकार्ड प्रर्दशन गर्दै उनीहरुले नर्समाथिको श्रमशोषण बन्द गर्दै पेसागत सुरक्षाको माग गरे ।


प्रर्दशनमा सीमा घताने विश्वकर्माले कोरोनाका बेला चितवनका प्राय अस्पतालहरुले बिरामीको चाप घटेको भन्दै ५० प्रतिशत नर्सलाई कामबाट निकालेको गुनासो गर्नुभयो । अस्पतालले बिरामीको चाप बढ्दा नर्सलाई काममा राख्ने बिरामीको चाप घट्दा कामबाट निकाल्ने जयज नभएको उहाँको भनाइ थियो । नर्सहरु रातदिन खटिएर काम गर्दा पनि आफूहरुमाथि आर्थिक तथा मानसिक शोषण भइरहेको विश्वकर्माले बताइन् । नर्सहरुको तलब निजी अस्पतालहरुमा २७ हजार रुपैयाँ तोकिएको भए पनि १० हजार रुपैयाँमा काम गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । बिएन गर्ने नर्सहरुले स्टाफनर्स पदमा रहेर काम गर्नुपरेको गुनासो गर्नुभयो । आवाज उठाउँदा अस्पताल प्रशासनले विभिन्न बाहना गर्दै कामबाट निकाल्ने गरेको विश्वकर्माले बताउनुभयो ।
नेपालमा एक लाखको हाराहारीमा नर्स रहेको बताउँदै विश्वकर्माले ठूला निजी अस्पतालले ९ देखि १२ महिना भोलिन्टिएर गराएर अकस्मात कामबाट निकाल्ने गरेको बताउनुभयो । नर्सिङ पढ्नका लागि लाखौँ रुपैयाँ खर्च हुने भन्दै विश्वकर्माले काम पाउँदा भने मासिक १० हजारको हाराहारीमा पारिश्रमिक पाइने बताउनुभयो । नर्सले गर्ने दायित्व तथा जिम्मेवारीलाई पूरा गर्दै निरन्तररुपमा आफ्नो अधिकारको लागि लड्न लागि देशैभरका नर्सहरुलाई आग्रह समेत गर्नुभयो ।


त्यसैगरी चितवन मेडिकल कलेजमा कोरोना संक्रमणको उच्च जोखिम रहेको बेला काम गर्दा समेत सुरक्षा उपकरण नपाएको भनेर गुनासो गर्दा अस्पतालले कामबाट निकालेको इच्छा दवाडीले बताउनुभयो । कामबाट निकालिएकी इच्छालाई तीन महिनाको निलम्बन भनेर अस्पतालले पुस १४ गते पत्र थमाएको भन्दै भन्दै उहाँले मंसिरको समेत तलब नपाएको गुनासो गर्नुभयो । कोरोनाका बेला पीपीइलगायतका विषयमा कुरा राख्दा जागिरबाट निकालिएको इच्छाको भनाइ छ ।
श्री नर्सिङ क्याम्पसमा नर्सिङ पढाउने बिएन प्रथम वर्षकी संयोजक समेत रहेकी सिसा राईले नर्सिङ क्याम्पसहरुमा शिक्षकको समेत श्रम शोषण हुने गरेको बताउनुभयो । उहाँले आफूहरुले कोभिडका कारणले तलब तथा भत्ता समेत नपाएको गुनासो गर्नुभयो । आफू मात्रै नभइ अन्य सहकर्मीहरुले समेत सेवा सुविधा पुरा नपाएको ।
उहाँले नेपाल नर्सिङ काउन्सिल, नेपाल नर्सिङ संघ र नेपाल सरकारसम्म आफ्ना मागहरु सुनुवाइ हुने विश्वास गरेको भन्दै माग सुनुवाई नभएको खण्डमा थप आन्दोलनमा उत्रने बताउनुभयो ।