चितवनमा भोलिदेखि १५ दिनका लागि निषेधाज्ञा (निर्णय सहित)

चितवन, १५ वैशाख ।
दोस्रो लहरमा फैलिएको कोभिड–१९ को सङ्क्रमण तीव्र रुपमा बढ्दै गएपछि चितवनमा निषेधाज्ञा जारी निर्णय भएको छ । आज (बुधबार) भरतपुरमा बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले वैशाख १६ गते (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरी १५ दिनसम्म निषेधाज्ञा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
डिसीएमसी चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको बैठकले बिहीबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । प्रजिअ प्रेमलाल लामिछाने, सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, जिल्ला समन्वय अधिकारी चुडामणि गौतम, भरतपुर अस्पतालका निमित्त प्रमुख मेसु जगन्नाथ तिवारी, कालीबहादुर गणका प्रमुख सेनानी विज्ञान खनाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सरोज गिरी, सशस्त्र प्रहरी बल १७ नम्बर गणका प्रहरी उरीक्षक दीपक कुमार थापा, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक उत्तम खनाल र डिसीएमसी चितवनका सदस्य सचिव दिपक तिवारीसहितको बैठकले निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक कोही घरबाट बाहिर ननिस्कने तथा जथाभावी हिँडडुल गर्न नपाइने जनाइएको छ । अत्यावश्यक परेर निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, तोकिएको जनस्वास्थ्य तथा सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी लामिछानेले समावेशी खबरलाइ बताए । सबै प्रकारका सभा, सम्मेलन, सेमीनार, तालिम, गोष्ठी, जात्रा, महोत्सव सञ्चालनमा रोक लगाइएको भए पनि राष्ट्रिय जनगणनाको हकमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नेगरी सञ्चालन गर्न बाधा नपर्ने लामिछानेले जानकारी दिए ।
निषेधाज्ञाको समयमा सञ्चालन गर्न पाइने र सञ्चालन गर्न नपाइने निर्णयहरु हेरौँ तस्वीरमा ।