प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि विपक्षीको बहस सुरु, क-कसले गर्दैछन् बहस ?
काठमाडाैं, १४ असार ।
प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा संवैधानिक इजलासमा आजदेखि विपक्षीको बहस सुरु हुँदैछ । सरकारी वकिलका तर्फबाट मुद्दाको प्रतिरक्षा प्रारम्भ हुने सर्वोच्च अदालतले जनाएको छ । सरकारी वकिल र अन्य प्रत्यार्थीका कानुन व्यवसायीका लागि इजलासले १५ घण्टा समय दिएको छ ।
जसमा सरकारी वकिलसँगै प्रत्यार्थीतर्फबाट निजी कानुन व्यवसायीका लागि समय लागू हुनेछ । तर समय व्यवस्थापनमा सरकारी वकिल र सभामुख अग्नि सापकोटाका निजी कानुन व्यवसायीबीच विवाद देखिएको छ । सभामुखका कानुन व्यवसायीले आधा समय नै माग गरे पनि महान्यायाधिवक्ताले उक्त समय नदिने इजलासमै बताएपछि विवाद देखिएको हो ।
समयको व्यवस्थापन बारेको विवाद आज बिहान सल्टाएर बहस सुरु गर्ने तयारी सर्वोच्चको छ । यो पटक सरकारी वकिलको नेतृत्व महान्यायाधिवक्ता रमेश बडालले गर्दै छन् । पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्नि खरेलले पनि प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दैछन् । साथै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेलगायतका सरकारी वकिल पनि प्रतिरक्षा उत्रिने तयारीमा छन् ।
सभामुखका तर्फबाट भने पाँच जना कानुन व्यवसायीले बहस गर्दैछन् । रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस आइतबार सकिएपछि आजबाट विपक्षीको तर्फबाट बहस सुरु हुन लागेको हो । नवेदक पक्षका ३६ जना कानुन व्यवसायीले बहस गरेका छन् ।