भारतमा बलात्कृत नेपाली बालिकालाई बलात्कारीकै जिम्मा लगायो
काठमाडौं,१४ असार ।
भारतको एक अदालतले बलात्कार पीडित एक नेपाली बालिकाको विषयमा निकै विवादित फैसला गरेको छ । पूर्वी भारतको अरुणाचल प्रदेशको एक अदालतले बलात्कार पीडित एक नेपाली बालिकालाई उनका ‘स्थानीय अभिभावक’को जिम्मा लगाउने फैसला गरेको छ । र, ती बालिकाका स्थानीय अभिभावक बलात्कार आरोपीकै परिवार हुन् । यस विषयमा अरुणाचल प्रदेशको बाल अधिकार तथा सुरक्षा आयोग (एपीएससीपीसीआर) ले गम्भीर असहमति प्रकट गर्दै आपत्ति प्रकट गरेको छ ।
राज्यको लोहित जिल्ला अदालतले सुनुवाइको क्रममा स्थानीय बाल हेरचाह संस्थानका सदस्यलाई अदालतमा उपस्थित हुन नदिएकोप्रति पनि एपीएससीपीसीआरले गम्भीर आपत्ति प्रकट गरेको छ । एपीएससीपीसीआरले नेपालबाट बेचिएर त्यहाँ पुगेकी हुन सक्ने विश्वास गरेकी ती बालिका तल्लो दिबांग भ्याली जिल्लाको सदरमुकाम रोइङमा घरेलु कामदारको रुपमा कार्यरत थिइन् ।
‘हाम्रा एक सदस्य २ दिनमा रोइङ गएर यो केसलाई कसरी अगाडि बढाइयो भन्ने विषयमा मूल्यांकन गर्नुहुनेछ । केही दिनअघि आएको अदालतको यो फैसलाले यौन दुर्व्यवहारको शिकार भएकाहरुको पीडालाई नबुझी खराब नजिर स्थापित गर्न सक्छ’ एपीएससीपीसीआरकी अध्यक्ष गुमरी रिंगुले राज्यको राजधानी इटानगरबाट द हिन्दूसँग कुरा गर्दै भनिन् ‘अदालतको फैसला प्रश्न उठाउन लायक छ, खासगरी यसकारण किनकि सुनुवाइमा बाल हेरचाह संस्थानका सदस्य र बालिकाका कुनै पनि संरक्षकलाई उपस्थित हुन दिइएको थिएन ।’
बालिका नेपाली नागरिक भएका कारण एपीएससीपीसीआरले यो विषयलाई बाल अधिकार तथा सुरक्षा राष्ट्रिय आयोगमा लिएर गएको छ । तल्लो दिबांग भ्यालीका एसपी जेके लेगोले पीडित अर्को देशकी नागरिक भएकोले आफूले एपीएससीपीसीआरलाई पत्र लेखेर यो विषयलाई दूतावास स्तरसम्म लैजान आग्रह गरेको बताएका छन् । ‘मेरो जिम्मेवारी भनेको यो केसको न्यापूर्ण निरुपण होस् भन्ने हो । हामीले सम्बन्धित निकायको निर्देशन पर्खिरहेका छौं’ उनले द हिन्दूसँग भने ।
बालिकाको उमेर १५ वर्षभन्दा कम छ । उनी मार्च २ मा हराइरहेको रिपोर्ट गरिएको थियो । बालिकाले पुलिसलाई आफूलाई आफ्नै रोजगारदाताले यौन शोषण गरेको बताएपछि यो केसले नयाँ मोड लिएको थियो । बालिकाको यस्तो बयानपछि जिल्ला बालकल्याण समितिले उनलाई बाल हेरचाह संस्थानमा राखेको थियो । आरोपीलाई पक्राउ गरी अप्रिल २० मा उनीविरुद्ध अदालतमा चार्जशिट दाखिला गरिएको थियो । तर, पछि उनलाई धरौटीमा छाडियो ।
एसपी लेगोका अनुसार ती बालिका निकै सानी हुँदा उनलाई नेपालबाट भारत लगिएको थियो । त्यसपछि उनी आका कालुङको घरमा घरेलु कामदारका रुपमा काम गरेर बसेकी थिइन् । उनले आफूमाथि भएको यौन शोषण विस्तारमा बताएकी थिइन् । बाल हेरचाह संस्थानका अध्यक्ष देसाइ लिंगीले पत्रकारहरुसँग कुरा गर्दै ती बालिकालाई आरोपी परिवारले मात्रै नभइ स्थानीय अदालतले पनि लगातार दुर्व्यवहार गरेको बताए ।
‘किशोर न्याय ऐन फौजदारी कार्यविधि संहिताको धारा १६४ ले अर्कै व्यवस्था गरेको भए पनि हाम्रा सदस्यलाई अदालतमा उपस्थित हुन दिइएन’ लिंगीले द हिन्दूसँग भने । अदालतले बाल हेरचाह संस्थालाई बालिकालाई एक महिलाको जिम्मा लगाउन निर्देशन दियो । ती महिलालाई बालिकाकी स्थानीय अभिभावक भनिएको थियो तर ती महिला आरोपीकी भाउजु थिइन् । योभन्दा अझै अगाडि बढेर अदालतले फैसलामा भनेको छ ‘पीडित भनिएकी बालिका जसका जैविक पिता र स्थानीय अभिभावक छन्, उनलाई हेरचाह र सुरक्षा आवश्यक भएको बालबालिका जसरी राख्न सकिन्न । त्यसैले बाल हेरचाह संस्थानले बालिका हस्तान्तरण गरोस् ।’