चितवनमा ६० प्रतिशत रोपाइँ सकियो, पिठुवामा राष्ट्रिय धान दिवस मनाइने
चितवन, १४ असार ।
समयमै मनसुन शुरु भएका कारण यस वर्ष चितवनमा धान रोपाइँ हुने क्षेत्रफलमध्ये करिब ६० प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र चितवनले आज पत्रकार सम्मेलन गर्दै जिल्लाका अधिकांश क्षेत्रफलमा बर्खे धान रोपाइँ भइरहेको जनाएको छ ।
जिल्लाको कुल क्षेत्रफलको ४६ हजार ८९७ हेक्टर खेतीयोग्य जमीन रहेको भन्दै कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले अहिले जिल्लामा ४४ हजार २९१ हेक्टर क्षेत्रफलमा खेती भइरहेको बताउनुभयो । जिल्लामा खेतीयोग्य जमीनको ७२ प्रतिशत क्षेत्रफलमा सिँचाई सुविधा पुगेको भए पनि २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको भन्दै ढकालले यस वर्ष धान खेती हुने क्षेत्रफल बढ्ने अनुमान गरिएको बताउनुभयो । नेपालमा सूचित गरिएका १३० जातका धानमध्ये चितवनमा सावित्री, सावा मन्सुली, सब १, स्वर्ण सब १, रामधान, हर्दिनाथ १, चैते ५, बहुगुणी १, बहुगुणी २ लगायतका धानहरु लगाउने गरिन्छ ।
चितवनका किसानहरु करिब ४० प्रतिशत क्षेत्रफलमा हर्दिनाथ तथा त्यति नै संख्यामा पिआर धान लगाउने गरेका ढकालको भनाइ छ । यस वर्ष करिब पाँच हजार ६९५ किलो सूचिकरणमा नरहेको गोरखनाथ धानको बिउ बरामद गरेर नष्ट गरिएको भन्दै ढकालले उक्त बिउ बिक्री वितरण गर्ने पाँच जना व्यवसायीलाई कारबाही गरिएको बताउनुभयो ।
यसैबीच, असार १५ गते भाेलि मङ्गलबार रत्नगर–१५ को पिठुवामा धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ १८औँ राष्ट्रिय धान दिवस मनाउन लागिएको ढकालले बताउनुभयो । अनुदानमा कृषकहरुलाई विभिन्न कृषि यन्त्रहरु वितरण गरिदै आएकाले जिल्लामा कृषिमा यान्त्रिकीकरण बढ्दै गएको ढकालले बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले यान्त्रिकीकरणको प्रयोगमा खेती गर्दा कृषकको उत्पादन लागतमा ५० प्रतिशत कमी आउने बताउनुभयो । यस वर्ष करिब ३० बिघा क्षेत्रफलमा मेसिनबाट धान रोप्ने गरी बिउ राखिएको तिमल्सेनाको भनाइ छ ।
कृषकहरुले रासायनिक मलमा मात्रै निर्भर नभएर हरियो मल प्रयोग गर्दै माटोको उर्बराशक्ति वृद्धि गर्नुपर्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक राजन बगालेले बताउनुभयो । कृषकहरुले खेतीमा रासायनिक मल प्रयोग गर्दा युरियासँगै डिएपी र पोटासको मात्रा मिलाएर हाल्न अनुरोध गर्दै बगालेले जिल्लामा मलको आपूर्ति नियमित भइरहेको बताउनुभयो । चितवनमा वार्षिक ३० हजार मेट्रिक टन मलको माग हुने गरेकोमा खाद्य सामग्री कम्पनीले १३ हजार मेट्रिक टन आपूर्ति गर्दै आइरहेको र बाँकी साल्ट ट्रेडिङले आपूर्ति गर्ने गरेको बगालेले बताउनुभयो ।