प्रम ओलीले भने– माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र?
काठमाडौं,१४ असार ।
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन आफूले प्रस्ताव नगरेको प्रस्ट पारेका छन्। बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो “आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छेलाई कसैले प्रधानमन्त्रीको प्रस्ताव गर्छ ? मलाई बौलाह कुकुरले टोकेको छ र माधव नेपाल जस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्छु ।”
उहाँले नेता नेपाललाई लाजशरम पचेको र पतन भै सकेको भन्दै ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिनुभयो ।
ओलीले प्रचण्डपथ नेपाली कांग्रेसको पनि मार्गदर्शक सिद्धान्त बनिसकेको उनले टिप्पणी गरे। ‘माधव नेपाल भन्ने एकजना मानिस छन्। कांग्रेसको पछि लागेका छन्। यस्तो लाजसरम पचेको मानिसको चर्चा सकारात्मक र नकारात्मक दुवै हुन्छ,’ उनले भने, ‘झुटको राजनीति कसरी गर्छन् भन्ने दुई तीन दिन अगाडि सुन्नुभयो होला मैले माधव नेपाल भन्ने व्यक्तिलाई मैले प्रस्ताव राखे भनेर उनले भनेर हिँडेका छन् रे।’
पार्टीलाई ध्वस्त बनाउने, कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउने तर शेरबहादुर देउवालाई धोका नदिने कसम खाएर माधव नेपाल लागेको उनको आरोप छ।
‘उनी शेरबहादुर देउवाकै पार्टी ज्वाइन गर्न सक्छन्, कार्यकर्ता भएर हिँडेका छन्,’ उनले भने, ‘प्रचण्डको पार्टी ज्वाइन गर्ने त छँदै छन्। अन्तिममा हुने त त्यही हो।’
नेता माधव नेपालले केही दिन अघि राजधानीमा विपक्षी गठबन्धनव्दारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएको दाबी गर्नु भएको थियो । उहाँले आफू विपक्षी गठबन्धनलाई धोका दिन नसक्ने बताउनु भएको थियो ।