एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद

चैत १६ गते
गोलबजार नगरपालिका-७ पुरानो चोहर्बामा भएको सवारी दुर्घटनास्थलबाट १ थान कटुवा पेस्तोल र ७.६२ एमएमको २ राउन्ड गोली आइतबार बेलुकी बरामद भएको छ ।
उक्त ठाउँमा ना.३ ख ४७७४ नम्बरको ट्रकले प्रदेश नम्बर २-०१-००२ प ५४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कर्जन्हा नगरपालिका-४ बस्ने २६ वर्षीय मुकेश दास गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले दुर्घटनास्थलबाट उक्त पेस्तोल र घाइते मुकेशको पाइन्टको खल्तीबाट गोली बरामद गरेको हो । गम्भीर घाइते भएका मुकेशलाई स्थानीय सगरमाथा अस्पताल चोहर्बा हुँदै थप उपचारको लागि विराट नर्सिङहोम विराटनगर लगिएको छ ।
हाल फरार रहेका मोटरसाइकलमा सवार कर्जन्हा नगरपालिका-४ बस्ने १९ वर्षीय अमृत यादव र ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।