फाइनल हेर्न १ हजार र २ हजारको टिकट

अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय कप फुटबलको फाइनल खेल हेर्न  लागि टिकटको मूल्य वृद्धि गरेको छ ।

त्रिदेशीय कपको फाइनलमा सोमबार नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा खेल हुँदैछ । यो खेल हेर्न भीआईपी प्याराफिटको टिकट मूल्य २ हजार र साधारण प्याराफिटको टिकट मूल्य १ हजार रुपैयाँ तोकिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । यसअघि त्रिदेशीय कपको पहिलो चरणको खेल हेर्न भीआईपीतर्फ १५०० र साधारणतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको थियो ।

किर्गिस्तान यू-२३ टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश र नेपाल शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् । फाइनल खेल नेपाली समयअनुसार साँझ ५:३० बजे सुरु हुनेछ ।

समूह चरणमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । समूह चरणको दुवै खेलमा गो गर्न नसकेको नेपाल फाइनलमा गोल गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रदैँछ ।