चितवनमा आज रातिदेखि निषेधाज्ञा हुँदै
चितवन, १६ वैशाख ।
काेभिड-१९ काे सङ्क्रमण बढ्दै गएपछि यसकाे नियन्त्रणका लागि भन्दै चितवनमा आज मध्यरातिदेखि निषेधाज्ञा हुने भएको छ । बुधबार बसेको जिल्ला काेभिड-१९ सङ्कट व्यवस्थापक केन्द्र (डिसीसीएमसी) चितवनको बैठकले आज रातिदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि डिसीसीएमसीले निषेधाज्ञा गर्न सिफारिस गरेरपछि जिल्ला प्रशासन कार्यालय चितवनबाट निषेधाज्ञा जारी गरिएकाे चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । आज मध्यराति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरिएकाे लामिछानेले बताए । चितवनमा कोरोना (कोभिड १९) सङ्क्रमितको संख्या साढे ६ सय नाघेकाे छ ।
चितवनमा निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालयबाट हुने सेवा बन्द हुनेछन् । जिल्लामा लामो तथा छोटा दूरीका सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाईने छ । खाद्य सामग्री, तरकारी, फलफूल, दूध डेरी, ग्याँस पसल, पेट्रोल पम्प लगायत अत्यावश्यक वस्तु वा सेवा आपूर्ति गर्ने बाहेक अन्य पसल व्यवसाय बन्द गर्न प्रशासनले आग्रह गरेको छ ।
यस्तै, चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनहरुमा हुने जङ्गल सफारी, तथा नारायणी र राप्ती नदीमा हुने जलयात्रामा पनि रोक लगाइएको छ । यसअघि नै प्रशासनले बढी भीड हुने शैक्षिक संस्था सिनेमा हल, हाटबजार, जिमहलहरु बन्द गराईसकेको छ । विवाह ब्रतबन्ध लगायतका कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाईने छैन ।
तर, घरमा सञ्चालन गर्ने यस्ता प्रकारका कार्यहरु १५ जना नबढ्ने गरी तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य रुपमा प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । यद्यपि स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, इन्टरनेट, खानेपानी, फोहोरमैला, व्यवस्थापन, ग्याँस तथा पेट्रोलियम पदार्थ, तरकारी फलफूल, खाद्यन्न, दुग्ध पदार्थ, औषधि, पशुपंक्षीको दाना माछा, मासु लगायतका सेवाहरु सञ्चालन गर्न पाईने छ ।
उद्योगको हकमा भने कामदार लगायत सबैले जनस्वास्थ्यका निर्धारित सबै मापदण्ड अनिवार्य रुपमा पालन गर्न अनुरोध गरिएको छ । प्रशासनले अत्यावश्यक काममा बाहेक कोही घर बाहिर ननिस्कने तथा जथाभावी हिँडडुल नगर्न र निस्कनै पर्दा अनिवार्य मास्क प्रयोग गरेर जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।