नवलपुरको त्रिवेणीमा हेल्थ डेस्क स्थापना
नवलपुर, १६ वैशाख ।
गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ । विनयी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्योतिराज अर्यालका अनुसार एक जना अहेब र एक अनमी स्टाफ राखेर हेल्थ डेस्क सञ्चालन गरिएको हो । स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको हो ।
पहिलो लहरको कोरोना संक्रमण हुँदा पनि त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो । डेस्कले सीमा नाकामा आउजाउ गर्नेको ज्वरो जाँच्ने र ठेगाना लेख्ने काम गर्थ्यो ।
सिमानाका भएका कारण प्रदेश सरकारले स्वास्थ्यकर्मी राख्नुपर्नेमा त्यसो नगरी गाउँपालिकालाई जिम्मा दिँदा पर्याप्त स्वास्थ्यकर्मी परिचालन गर्न नसकिएको अर्यालले बताए । ‘यो प्रदेश सरकारको काम हो तर वास्तै गर्दैन’ उनले भने, ‘गाउँपालिकाको सीमित बजेटले सीमा नाकाको जिम्मेवारी धान्न सकिन्न ।’
१३ महिनाअघि देखि बन्द त्रिवेणी भन्सार नाका भने अझै खुलेको छैन । नाका नखुल्दै फेरि त्यहाँ हेल्थ डेस्क स्थापना गरिएको हो । कम्तीमा ६ स्वास्थ्यकर्मी राखेर कम्तीमा भारतबाट त्यो नाका हुँदै नेपाल भित्रिनेको पीसीआर परीक्षणको व्यवस्था गर्न सके प्रभावकारी हुने स्थानीयले बताए । सिमानाकामै पीसीआर परीक्षण नगरी घर पठाउँदा कोरोना संक्रमणको जोखिम बढ्ने देखिएको छ ।
ज्वरो नाप्ने र ठेगाना लेख्नेबाहेक २ कर्मचारीबाट अरू काम हुन नसक्ने गाउँपालिका अध्यक्ष डम्बर जिसी बताउँछन् । त्रिवेणी नाकामा प्रदेश सरकारले चासो नदिएका कारण पर्याप्त स्वास्थ्य सुरक्षा अपनाउन नसकिने उनले बताए ।