काम शुरू भएदेखि नै विवादमा चिनियाँ कन्स्ट्रक्सन
नवलपुर, १६ वैशाख ।
बुटवल—नारायणगढ सडक खण्ड विस्तारको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी गरेको ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन’ प्रारम्भिक चरणबाटै विवादमा पर्दै आएको छ ।
काम शुरू भएको दुई वर्ष वितिक्दा ४ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । कर्पोरेशन नेपाली मजदुरमाथि आक्रमण गर्ने तथा तलब नदिने जस्ता व्यवहारले विवादमा तानिँदै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि चैत ८ गते ‘बुटवल–नारायणघाट सडक खण्ड विस्तार’ को शिलान्यास गरेका थिए । सम्झौताअनुसार आयोजना अब डेढ वर्षभित्र सम्पन्न भइसक्नुपर्ने भए पनि कम्पनीले काममा विलम्ब गर्न थालेपछि सडक आसपासका बासिन्दा विरोधमा उत्रिन थालेका छन् ।
कम्पनीले काममा ढिलासुस्ती गर्दा वायु प्रदूषण भएको भन्दै जिल्ला प्रशासन कार्यालय र सम्बन्धित अन्य निकायमा धेरै पटक भनको पनि सुनुवाइ नभएको विनयी त्रिवेणी गाउँपालिका २ का वडाध्यक्ष विष्णुप्रसाद ढकालले बताए । ‘ठेकेदार कम्पनीसँग २० पटकभन्दा बढी मिटिङ गरियो,’ वडाध्यक्ष ढकालले भने, ‘अति भएर स्थानीयले गाउँपालिकाको कार्यालयमा नै ताला लगाएका थिए ।’
दुम्किबासको ज्यामिरेस्थित वडा नम्बर २ को कार्यालयमा तालाबन्दीपछि सम्बन्धित निकायमा परेको दबाबले ज्यामिरे क्षेत्रमा सात दिनभित्र काम शुरू भएको ढकालले बताए । जनताले विरोध नगरी उनीहरुले काम नै नगर्ने उनको भनाइ छ ।
बाटो दाउन्ने क्षेत्रमा सबैभन्दा बिग्रिएको छ । गत असारदेखि सडक भत्किएर कहिले हिलाम्मे र कहिले धुलाम्मे हुँदा पनि बेवास्ता हुँदै आएको स्थानीयवासीको भनाइ छ । सकड धुलाम्मे हुँदा बसिसक्नु अवस्था नभएको दाउन्नेका विष्णु गुरुङले बताए ।
स्थानीय बासिन्दा र स्थानीय जनप्रतिनिधि मात्र होइन, चिनियाँ ठेकेदार कम्पनीको कामबाट गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसी पनि सन्तुष्ट छैनन् ।
दाउन्नेको सात किलोमिटर क्षेत्रमा बाटो निर्माण चाँडै सम्पन्न गर्नुपर्न र प्रदूषण नगरी काम गर्नुपर्ने कुरा सम्झौता उल्लेख भए पनि त्यसो नभएपछि स्थानीयवासी विरोधमा उत्रिनु परेको गाउँपालिका अध्यक्ष जिसीले बताए ।