सुमोमा मकवानपुर प्रहरीले बरामद गर्यो ३४ किलो गाँजा
मकवानपुर,१६ वैशाख ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरको प्रहरी टोलीले सुमोमा ३४ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
लागुऔषध गाँजा लुकाईछिपाई ल्याउँदै गरेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले भैंसेस्थित चेक प्वाईन्टमा सवारी चेकजाँच गर्ने क्रममा ना.१ ज ४७३३ नम्बरको सुमोलाई रोक्न खोज्दा नरोकी भागेकाले पिछा गरी समाएर चेकजाँच गर्दा सुमो भित्र ६ वटा पोकामा लागुऔषध गाँजा ३४ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक प्रभु राउत कुर्मीको कमाण्डमा खटिएको प्रहरीले भैसे चेक प्वाईन्टबाट भागेको सुमो भीमफेदी–२ स्थित राप्ति बगरमा प्रहरीले फेला पारेको थियो ।
लागूऔषध गाँजा फेला पारेपछि प्रहरीले सुमो चालक जिल्ला पर्सा बिन्दावासिनी गाउँपालिका वडा नम्बर–३ बस्ने वर्ष २९ का रविन्द्र उपाध्यायलाई पक्राऊ गरेको छ । पक्राऊ परेका चालक उपाध्याय उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जनाएका छन् ।