गैँडाकोट नगरपालिकाद्वारा अनुदानमा फलफूलका बिरुवा वितरण
चितवन, १५ असार ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अनुदानमा फलफूलका बिरुवा वितरण गरेको छ ।
नगरपालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले १४ हजार वटा फलफूलका बिरुवा वितरण गरिएको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो । कृषि समूह तथा कृषकहरुको मागको आधारमा नगरपालिकाको कृषि शाखाले फलफूलको बिरुवा खरिद गरेर कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको नगरप्रमुख पौडेलले बताउनुभयो ।
नगरपालिकाका कृषि शाखा अधिकृत राजुप्रसाद शर्माले सुन कागती नौ हजार, अम्रपाली प्रजातिको आँप दुई हजार ५०० तथा लिची दुई हजार ५०० बिरुवा खरिद गरेर वितरण गरिएको जानकारी दिनुभयो । कृषि शाखाले चालु आर्थिक वर्ष २०७७÷७८ मा फलफूलका बिरुवा वितरणका लागि रु ७ लाख बजेट विनियोजना गरेकोमा सोही रकमबाट फलफूलको बिरुवा अनुदानमा वितरण गरिएको शर्माले बताउनुभयो । नगरपालिकाले आँप रु ८५, लिची रु ७५ तथा कागती रु २५ मा खरिद गरेर कृषि समूह तथा कृषकलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको शर्माले बताउनुभयो ।