त्रिपुरेश्वर कृषि सहकारी संस्थामा विविध कार्यक्रमसहित मनाइयो रोपाइँ महोत्सव
चितवन, १५ असार ।
विविध कार्यक्रमसहित चितवनमा १८औँ राष्ट्रिय धान दिवस मनाइएको छ । नेपाल सरकारको निर्णयअनुसार असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आइएको छ ।
धान दिवसको अवसरमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा स्थानीय पालिकाहरुले धान विविध कार्यक्रम गर्दै धान दिवस मनाएको हो । भरतपुर–९ मा रहेको त्रिपुरेश्वर कृषि सहकारी संस्थाले भरतपुर महानगरपालिकासँग सहकार्य गर्दै धान दिवस मनाएको छ । सहकारीका अध्यक्ष बेदप्रसाद सापकोटाले धान दिवसको अवसर पारेर हिले दौड तथा धान रोपाइँ प्रतियोगिता गरिएको जानकारी दिनुभयो ।
सहकारीले आयोजना गरेको हिले दौडमा २० जना तथा रोपाइँ प्रतियोगितामा विभिन्न १० वटा समूह सहभागी भएका भन्दै उहाँले प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार प्रदान गरिएको जानकारी दिनुभयो । त्रिपुरेश्वर कृषि सहकारीले हरेक वर्ष असार १५ लाई उत्सवको रुपमा मनाउँदै आएकोले यस वर्ष महानगरसँग समन्वय गरेर कार्यक्रम गरिएको सापकोटाले बताउनुभयो । कार्यक्रम महानगरपालिका प्रमुख रेनु दाहालले कृषिमा यान्त्रिकीकरण गर्दै उत्पादन लागत घटाउनतर्फ महानगरले अनुदानमा कृषि सामग्रीहरु वितरण गरिरहेको बताउनुभयो ।
चितवनमा असार १५ सम्म करिब ६५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताउनुभयो । यस वर्ष जिल्लामा प्रविधिको प्रयोग गर्दै धान रोपाइँ गर्ने व्यक्ति तथा सहकारीको संख्या बढेको ढकालको भनाइ छ ।