धान दिवसको कार्यक्रममा मेयर रेनु प्रमुख अतिथि : ड्रागन फ्रुट रोपिन्, धान रोपिनन्
चितवन, १५ असार ।
चितवनमा भरतपुर महानगरपालिका आयोजक भएर ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।
भरतपुर महानगरपालिका कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखाको आयोजना तथा भरतपुर–९ को त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडको सहआयोजनामा भएको रोपाइँ महोत्सवमा प्रमुख अतिथिको रुपमा महानगर प्रमुख रेनु दाहाल सहभागी भइन् । कार्यक्रममा सहभागी दाहालले धान भने रोपिनन् । बरु उनले महानगरको अनुदानमा निर्माण सम्पन्न भएको सिँचाई बोरिङको उद्घाटन तथा ड्रागन फ्रुटको बिरुवा रोपिन् ।
महानगरपालिका आयोजक भएको कार्यक्रममा सहभागी भएकी दाहालसँगै उपप्रमुख पार्वती शाह ठकुरी, महानगरपालिका प्रवक्ता एवं वडा नम्बर–१० का वडाअध्यक्ष अरुणपीडित भण्डारी सहितका व्यक्तिहरु धान रोपाइँमा सहभागी नै भएनन् । धान दिवसको कार्यक्रममा सहभागी भएर ड्रागन फ्रुट मात्रै रोपेर फर्किदा स्थानीय भने चकित भएका छन् । उनीहरुले हिले दौड प्रतियोगितासम्म अवलोकन गरेको भए पनि धान रोपाइँ प्रतियोगिता भने अवलोकन समेत गरेनन् ।
कार्यक्रमको प्रमुख अतिथि भएर पुगेकी दाहालले धान रोप्नका लागि न त हिलोमा पसिन् त धान नै रोपिन् । अन्य स्थानको धान रोपाइँमा सहभागी भएर धान समेत राेप्ने दाहाल आफ्नै महानगरको आयोजनामा भएको कार्यक्रममा सहभागी भएर पनि धान रोप्नु त परको कुरा हिलो समेत नछोइ फर्किदा स्थानीय भने एकअर्काको मुख हेर्नु वाहेक कुनै प्रतिक्रिया जनाउन सकेन् ।