पछिल्लो २४ घण्टामा थपिए २ हजार ६३६ कोरोना संक्रमित, २० जनाको मृत्यु
काठमाडौं, १५ असार ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबारको तुलनामा मंगलबार झण्डै दुई सय जना बढीमा संक्रमण देखिएको छ । सोमबार ११,६४० जनामा परीक्षण गर्दा २,४४४ जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४,४८९ जना रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५ लाख ९२ हजार ५३५ जना कोरोना संक्रमित निको भएका छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाको कारण ९ हजार ७१ जनाको मृत्यु भएको छ । यस्तै देशभर ३३८ जना क्वारेन्टिनमा रहेका छन ।