मजदुरको आन्दोलनले रोकिएको सडक विस्तार सहमतिपछि शुरु
नवलपुर, १७ चैत ।
निर्माण पक्षले मजदुरलाई कुटपिट गरेको भन्दै ठप्प पारिएको बुटवल-नारायणगढ सडक विस्तारको काम आजदेखि पुनः शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्वमा) निर्माण पक्ष र मजदुर पक्षबीच सहमति भएर आजदेखि मजदुरहरु काममा फर्किएका हुन् । सो सडक विस्तारको काम गत चैत ६ गतेदेखि ठप्प थियो । मजदुरहरुको हडतालका कारण सडक विस्तारको काम अवरुद्ध भएकोमा मजदुर र ठेकेदार पक्षबीच सहमति भएर १२ दिनपछि मजदुरहरु काममा फर्किएका हुन् ।
सडक खण्ड विस्तारका लागि काममा खटिएका मजदुरले तेल तथा माटो चोरी गरेर विक्री गरेको आरोपमा दुवै पक्षबीच कुटपिट हुँदा मजदुरहरुले काम ठप्प पारेका थिए । नारायणगढ–बुटवल सडक विस्तारको काम भइरहेको अवस्थामा खण्ड ‘क’ मा कार्यरत मजदुरले तेल तथा माटो चोरी गरेको भन्दै ठेकेदार पक्षले मजदुर निकालेको थियो । मजदुर निकालिएपछि देवचुली नगरपालिकास्थित रजहरमा रहेको ठेकेदार पक्षको साइट कार्यालयमा निर्माण पक्षले छलफलमा बोलाएर मजदुरलाई कुटपिट गरेको भन्दै मजदुरहरु काममा गएका थिएनन् ।
सो कुटपिटको विषयमा दुवै पक्षबीच सहमति भएर आज (मङ्गलबार)देखि काम शुरु भएको आयोजनाले जनाएको छ । “मजदुर र ठेकेदार दुवै पक्षबाट कुटपिट भएकाले अबदेखि कुटपिटमा नउत्रिने भन्ने सहमति भएको छ” आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भन्नुभयो, “चोरीको विषयमा प्रहरीले अनुसन्धान गर्ने सहमति भएको छ ।” कुटपिटको विषयमा दुवै पक्षले प्रहरीमा उजुरी गरेका थिए । उजुरीपछि दुवै पक्षलाई छलफलमा राखेर सहमति गरिएको अचार्यले बताउनुभयो ।
“दोहोरो कुटपिट भएको हुँदा दुवै पक्षका मानिसहरु घाइते भएका थिए” आचार्यले भन्नुभयो, “उनीहरुले आफूलाई सही र अर्को पक्षलाई गलत भन्दै आएका थिए, तर सहमति गराएर काममा फर्काएका छौँ ।” मजदुरलाई काम चाहिएको तथा ठेकेदार पक्षलाई आयोजनाको काम छिटो सम्पन्न गर्नुपर्ने अवस्था रहेका कारण पनि सहमति भएर सडक विस्तारको काम अगाडि बढेको आचार्यको भनाइ छ । आयोजनामा प्रयोग हुने सामग्रीहरु चोरी हुन नहुने भन्दै चोरी भएको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको आचार्यले बताउनुभयो ।
“चोरीको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ” आचार्यले भन्नुभयो, “अनुसन्धानको क्रममा दोषि देखिएका व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नसमेत सहमति भएको छ ।” आयोजनाको खण्ड ‘क’ को विभिन्न स्थानमा करिब ४०० मजदुरले सडक विस्तारको काम गर्दै आएका थिए । सो सडक विस्तार आयोजनाको काम मजदुरहरुले दोस्रोपटक बन्द गरेका हुन् ।
यसअघि केही महिना पहिले ठेकेदार कम्पनीले श्रम कानुनअनुसार व्यवहार नगरेको भन्दै मजदुरहरुले हडताल गर्दा सडक विस्तारको काम प्रभावित बनेको थियो । यसअघि मजदुरको आन्दोलनको कारण रोकिएको काम एक हप्तापछि सम्झौता भएर पुनः अगाडि बढेको थियो । विभिन्न अवरोधका कारण सो सडक विस्तारको कामले गति लिन सकेको छैन ।
आयोजनाको काम शुरु भएको दुई वर्ष बितिसक्दा भौतिक प्रगति चार प्रतिशत मात्रै देखिएको बुटवल–नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले बताउनुभयो । आयोजनाको बाँकी रहेको ९६ प्रतिशत काम आगामी १८ महिनाभित्र सम्पन्न गर्न चुनौती भएको दिष्टीको भनाइ छ । कोभिडका कारण काम प्रभावित भएकाले केही महिना थप हुनसक्ने भए पनि निर्माण सम्पन्न गर्न त्यो समय पर्याप्त नहुने उहाँले बताउनुभयो ।
तत्कालीन राजा महेन्द्रबाट विसं २०१९ वैशाख १ गते उद्घाटन भएको दुई लेनको पूर्वपश्चिम राजमार्गको यो सडक विस्तार गरेर चार लेनको बनाइदैछ । विस्तारको काम ४२ महिनामा सक्नुपर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएको थियो । बुटवल–नारायणगढ खण्डको ११५ किलोमिटर सडकमध्ये गैँडाकोट–दाउन्ने खण्डको ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको थियो । ग्लोबल टेन्डरमार्फत दुवै खण्डको निर्माणको जिम्मा चीनको निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कम्पनीले पाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । एशियाली विकास बैंक (एडिबी)को ८५ प्रतिशत ऋण सहयोगमा सडक विस्तारको काम अगाडि बढेको हो । सडक विस्तारपछि शहरी क्षेत्रमा चार लेनका अतिरिक्त ६÷६ मिटरको सर्भिस लेनसमेत निर्माण हुनेछ भने दाउन्ने क्षेत्रमा तीन लेनमा सडक विस्तार गरिनेछ ।