होली विशेष चेकजाँचमा तीन सय बढी कारबाही

चितवन, १७ चैत ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको होली विशेष सुरक्षा जाँचका क्रममा ३०७ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले आइतबार र सोमबार जिल्लाकाे विभिन्न स्थानमा गरेको सवारी साधनको सुरक्षा जाँचका क्रममा ती सवारी साधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

सवारीसाधनको सुरक्षा जाँचका क्रममा मादक पदार्थ सेवन गरी चलाउने ४२, स्वरुप परिवर्तन गर्ने ६, सवारी साधन अनुमति पत्र नभएका/हेलमेट नलगाएका र मोटरसाइकलमा तीन जना चढेका ४२ र बाँकी अन्य कसुरअन्तर्गत कारबाहीमा परेका भट्टले समावेसी खबरलाई जानकारी दिए । आइतबार ट्राफिक प्रहरीले ८५ वटा सवारीसाधनलाई कारबाही गरेको भन्दै भट्टले बाँकी सवारीसाधन सोमबार कारबाहीमा परेका बताए । ‘आइतबार कारबाहीमा परेका सवारी साधनलाई होल्ड गरेर राखेर सोमबार जरिवाना काटेर पठाएका थियौँ’ भट्टले भने ।
मङ्गलबार समेत ८८ वटा सवारी साधनलाई सवारीसाधन जाँच गरिएकै स्थानमा चिट काटेर पठाइएको भट्टको भनाइ थियो । मादक पदार्थ सेवन गरेर सवारी चलाएकोमा कार, म्याजिक भ्यान र ट्रक एक/एक वटा कारबाहीमा परेका भट्टले समावेसी खबरलाई बताए । ट्राफिक प्रहरीले होलीका क्रममा हुने दुर्घटना रोक्नका लागि विशेष सुरक्षा जाँच गरेको थियो ।

पहाडी तथा हिमाली क्षेत्रमा एक फागु पूर्णिमाको दिनमा मात्रै होली खेलिने भए पनि चितवनमा पूर्णिमा र भोलिपल्टसमेत होली खेलिदै आएको छ । होलीमा विशेष सुरक्षा सतर्कता अपनाइएको कारण जिल्लामा कुनै अप्रिय घटना नभएको भट्टले बताए ।