नवलपुरमा दुई सय बढी सवारी साधन कारबाही
नवलपुर, १७ चैत ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघट–सुस्तापूर्व)ले होली पर्वलाई लक्षित गरेर सञ्चालन गरेको विशेष सुरक्षा जाँचका क्रममा २०७ वटा सवारी साधन कारबाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले होलीमा जिल्लाका राजमार्ग एवं भित्री सडक खण्डका प्रहरी परिचालन तथा ट्राफिक चेकिङ गर्दा ती सवारीसाधन कारबाहीमा परेका बताए । तामाङले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, हेल्मेट नलगाई मोटरसाइकल चलाउने, मोटरसाइलकमा तीन जना बस्ने, तीव्र गतिमा चलाउने, स्वरुप परिवर्तन गरेका मोटरसाइकल, स्कुटर, हाइस गरी जम्मा २०७ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएकामध्ये ९८ वटा सवारीसाधनमाथि कारबाही हुँदा ७४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्दै तामाङले बाँकी १०९ वटा सवारीसाधनहरु कारबाहीको प्रक्रियामा रहेको बताए । ती सवारीसाधनलाई उनीहरुले गरेको गल्तिको आधारमा ट्राफिक जरिवाना गरी सवारी धनीहरुलाई सवारी जिम्मा दिने कार्य भइरहेको तामाङले बताए ।