चितवनमा जनगणनाका लागि ६ गुणा बढी दरखास्त
चितवन, १७ चैत ।
आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब ६ गुणा बढी दरखास्त परेको छ । चितवनमा गणक र सुपरीवेक्षकका लागि ६ हजार ७९३ जनाको दरखास्त परेको हो ।
चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले चितवनमा २०३ जना सुपरीवेक्षक तथा ८९५ जना गणकको दरबन्दी सिर्जना गरिएको जानकारी दिए । चितवनका लागि आवश्यक दरबन्दीभन्दा अनलाइनमार्फत फारम भर्नेहरुको सङ्ख्या करिब ६ गुणा बढी हो । त्यस्तै दरखास्त दिनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर रहेको छ ।
जिल्ला जनगणना अधिकारी भण्डारीले चितवनमा जनगणनाका लागि तीन हजार ६१८ महिला, एक हजार ८६४ पुरुष तथा दुई जना अन्य लिङ्गीले अनलाइन फारम भरेका जानकारी दिए । जनगणनाको तयारीकाे काम तीव्ररुपमा अगाडि बढेको भन्दै जिल्लाका सात स्थानमा आगामी वैशाख १ गते स्थानीय जनगणना कार्यालय स्थापना गरिने भण्डारीले समावेसी खबरलाई जानकारी दिए । भण्डारीकाअनुसार भरतपुरको भरतपुर–१०, भरतपुर–६ गीतानगर र भरतपुर–१८ चनौलीमा स्थानीय जनगणना कार्यालय स्थापना गरिँदैछ ।
त्यस्तै, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका हेर्नेगरी कालिकामा, रत्ननगर नगरपालिका लागि रत्ननगर नगरपालिकामा तथा राप्ती र खैरहनी हेर्नेगरी राप्ती नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना हुने भण्डारीले समावेसी खबरलाई बताए । भण्डारीकाअनुसार भरतपुरमा मात्रै ४६२ गणक र १०४ सुपरीवेक्षकको दरबन्दी रहेको छ । त्यस्तै माडीमा ५३ गणक र १४ सुपरीवेक्षक, रत्ननगरमा १२२ गणक र २४ सुपरीवेक्षक, कालिकामा १०५ गणक र २२ सुपरीवेक्षक तथा राप्तीमा १५३ गणक र ३९ सुपरीवेक्षक आवश्यक पर्छ ।
सुपरीवेक्षकका लागि चैत २० गते सम्पर्क मिति तोकिएको भण्डारीले बताए । सुपरीवेक्षकलाई वैशाख १६ देखि २२ गतेसम्म तालिम दिइने तथा वैशाख १६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचिकरणको काम हुने भण्डारीले समावेसी खबरलाई जानकारी दिए । जेठको १० देखि १४ गतेसम्म गणक नियुक्ति तथा १७ देखि २२ सम्म तालिम हुने भण्डारीले बताए ।
मुख्य गणना भने २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने भन्दै असार ८ गते नै १२औँ राष्ट्रिय जनगणना दिवस मनाइने भण्डारीले बताए । असोज मसान्तसम्म प्रारम्भिक नजिता सार्वजनिक गरिने भण्डारीको भनाइ छ । त्यस्तै २०७९ वैशाखबाट अन्तिम नजिता प्रकाशन हुने कार्यसूचि रहेको भण्डारीले बताए ।
यस पटक १४ वटा विषयमा विषयगत प्रतिवेदन प्रकाशन हुनेछ । त्यस्तै जनगणनाका लागि विभिन्न ८० वटा प्रश्नावली तयार पारिएको भण्डारीले बताए ।