आज देशैभर ५ विद्यार्थी संगठनले ‘प्रतिगमन”विरुद्ध पुत्ला दहन गर्दै
काठमाडौँ । ५ विद्यार्थी संगठनले आज देशैभर संयुक्त विरोध प्रदर्शन गर्दैछन् । देशभरका ७७ वटै जिल्लाका ५ विद्यार्थी संगठनका स्थानीय नेतृत्वको अगुवाइमा विरोध प्रदर्शन गर्न लागिएको हो ।
अनेरास्ववियु केन्द्रिय कमिटीका महासचिव आरती लामाका अनुसार आज सबै जिल्लामा प्रतिगमनविरुद्ध पुत्ला दहन कार्यक्रम तय भएको छ । उनका अनुसार बिहान ११ बजेपछि देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन सुरु भएको छ । संसद् विघटनलगायत प्रतिगमनविरुद्ध प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका कार्यक्रम रहेको लामाको भनाई छ ।
नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) ले संयुक्त रूपमा विरोध प्रदर्शन गर्न थालेका हुन् ।
गत सोमबार बसेको ५ विद्यार्थी संगठनको संयुक्त बैठकले सरकारविरुद्ध संयुक्त प्रदर्शन गर्ने निर्णय गरेको थियो ।