नहुनुपर्ने भयो, अब दोहोरिंदैन – शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं,१६ असार ।
जातीय विभेदको घटनामा आरोपितलाई संरक्षण दिएको विषयमा राष्ट्रिय मानवअधिकार आयोग र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठबीच छलफल भएको छ।
छलफलका क्रममा मन्त्री श्रेष्ठले आफू झण्डासहितको गाडीमा आरोपितलाई छुटाउन नगएको भए हुन्थ्यो भन्ने महसूस भएको बताएका हुन्।
श्रेष्ठले नहुनुपर्ने घटना भएको र आगामी दिनमा यस प्रकारका घटना नदोहोरिनेमा आफू सचेत रहेको बताएका छन्।
सञ्चारकर्मी रूपा सुनारले जातको कारण आफूलाई कोठा नदिएको भन्दै सरस्वती प्रधानविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। सुनारको जाहेरीपछि प्रहरीले प्रधानलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
हिरासतमा रहेकी प्रधानलाई मन्त्री श्रेष्ठसमेतको उपस्थितिमा ९ असारमा जमानतमा छुटाइएको थियो। हिरासतबाट छुटेपछि मन्त्री श्रेष्ठले झण्डावाल गाडीमा राखेर प्रधानलाई घरसम्म पुर्याइदिएका थिए।
जातीय विभेदलाई संरक्षण गरेको भन्दै आजै बसेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकका सहभागीले मन्त्री श्रेष्ठको राजीनामा मागेका छन्।