वर्ल्डलिङ्कको फाइबर केबल काट्ने तथा सामान चोरी गर्ने गिरोहका कारण इन्टरनेटमा समस्या
नवलपुर, १६ असार ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले नलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा जडान गरेको फाइबर केबल तथा पोलमा राखिएका सामानहरु चोरी हुने क्रम बढेको छ । वर्ल्डलिङ्कले जडान गरेका सामानहरु चोरी हुने तथा क्षति पुर्याउने क्रम बढेपछि दोषि पत्ता लगाएर कानुनी कारबाही सहित क्षतिपूर्तिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको वर्ल्डलिङ्कका कावासोती शाखा प्रमुख आकाश केसीले जानकारी दिए ।
वर्ल्डलिङ्कले सस्तो शुल्कमा विश्वस्तरीय सेवा प्रदान गरिरहेको सन्दर्भमा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्रतिस्पर्धा गर्न नसकेर अपराधिक बाटो प्रयोग गरी वर्ल्डलिङ्कको नाम बदनाम गर्न खोजेका कारण कानुनी उपचार खोजिएको केसीको भनाइ छ । केसीले केही समयदेखि यस क्षेत्रमा अन्य स्थानीय इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट दैनिक जस्तो फाइबर केबल काट्ने तथा पोलहरुमा राखिएको सामान चोरी गर्ने क्रम बढेको जानकारी दिए । वर्ल्डलिङ्कलाई बदनाम गराउन खोज्नेहरुले दुई दिन अघि मात्रै पनि रातिको समयमा चोरमारादेखि अरुणखोला बीचको खण्ड, डण्डा र रजहर गरी चार ठाउँमा तार काटिदिएका केसीले बताए ।
अस्वस्थ्य प्रतिस्पर्धा गर्नेहरुले तार काट्दिएका कारण बेला बेलामा उपभोक्ताहरु यसको मारमा पर्ने गरेका केसीको भनाइ थियो । पछिल्लो समय इन्टरनेटको पहुँचमा जाने सेवाग्राहीहरु बढ्दै गएको सन्दर्भमा वर्ल्डलिङ्कसँग प्रतिस्पर्धा गर्न नसकेपछि अन्य स्थानीय इन्टरनेट प्रदायकहरुले गलत बाटो प्रयोग गरेका केसीले आरोप लगाए । व्यापार, व्यवसाय, शिक्षादेखि सबै क्षेत्रमा इन्टरनेटको प्रयोग आइरहेको छ । नेपालमा पनि झन्डै ७० प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेका केसीको भनाइ छ ।