खैरहनीमा महिलाहरुको भेला,महिलाहरुको बलले गठबन्धनका उम्मेदवारले जित्ने दावी
चितवन , १६ कार्तिक । गठबन्धनमा आवद्ध दलका अगुवा महिलाहरुको भेलाले गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित रहेको दावी गरेका छन् । खैरहनीमा आज भएको महिला भेलामा बोल्ने वक्ताहरुले महिलाको शक्तिले गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित् रहेको बताए ।
महिला परिचालन उप समितीकी संयोजक निता ढकालले महिलाहरु दुर्गा भवानी , लक्ष्मी ,सरस्वती , काली ,चन्डीको अवतार भएको भन्दै महिलाहरु लागि परे गठबन्धनका उम्मेदवारहरुको जित हुने दावी गरिन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा.विश्वनाथ पौडेलले पुरुष र महिलाले विकासको सवालमा उठाउने बिषयवस्तुहरु फरक हुने बताए । महिलाहरुले दैनिक जिविकोमा प्रभाव पार्ने मुद्धाहरु उठाउने गरेको उनले बताए । पौडेलले महिलामैत्री कानुनहरु ल्याउन आवश्यक रहेको औल्याए । उनले हरेक क्षेत्रमा महिलाको सहभागिता आवश्यक रहेकोले अहिलेको बजेटमा महिलासँग राज्य भन्ने कार्यक्रम राखिएको बताए ।
प्रदेश १ क का उम्मेदवार किरण भूषण ओलीले अहिलेको गठबन्धन संविधान र देश रक्षाको लागि भएको बताए । उनले सबै मिलेर विकास र समृद्धिको यात्रा गर्नुपर्ने बताए । उनले आफू कांग्रेसको मात्रै उम्मेदवार नभएको भन्दै आफू गठबन्धनमा आवद्ध दलहरुको साझा उम्मेदवार भएको बताए । उनले स्थानिय तहको विजयीले मात्रै नहुने भन्दै गठबन्धनले प्रदेश र संघमा विजयी भएपश्चात् मात्रै योजनावद्ध रुपमा काम गर्न सकिने दावी गरे । उनले लाजपुर्जा बाड्ने बिषयमा अनावश्यक हल्ला फिजाइएको भन्दै निर्वाचन आयोगको आचारसंहिताको कारण अहिले लालपुर्जा वितरण गर्न रोकिएको र निर्वाचन पश्चात् वितरण गरिने बताए ।
कार्यक्रममा प्रदेश १ ख का उम्मेदवार कृष्ण खनालले गठबन्धनले इतियास रच्ने दावी गरे । प्रदेश तथा संघको निर्वाचनमा गठबन्धनको उम्मेदवारहरु विजयी हुने निश्चित् भएको उनले बताए । उनले रगतसंग साटेर ल्याएको संविधानमाथि प्रहार भएपछि संविधान रक्षाको लागि गठबन्धन कायम गरेको बताए । ‘गठबन्धन नभएको भए अहिले निर्वाचनको माहोल नभइ संविधानको रक्षा गर भन्दै आन्दोलन चलिरहेको हुन्थ्यो’उनले भने । उनले महिलाको सहभागिता ३३ प्रतिशत मात्रै नभएर अब महिलाहरुको माग अनुसार ५० प्रतिशत पुर्याउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले पश्चिम् चितवन र पुर्वीचितवनमा हुने विकासको फरकलाई आफूहरुले तोड्न खोजेको उनले बताए ।
उनले आफूहरुले गर्ने विकासको कार्यक्रम समानुपातिक रुपमा गर्ने बताए । बजार र गाँउको विकासमा एकरुपता ल्याउन उम्मेदवारी दिएको खनालले बताए । राज्यले गर्ने लगानी जनताको आयआर्जनमा जोडिने गरि काम गर्नुपर्नेमा उनले जोड दिए । उनले आफूहरु जनताको साथी बनेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट उम्मेदवार विमला बराइली , नेकपा माओवादी केन्द्रकी नेतृ तथा बागमती प्रदेश सभा सदस्य कन्चन खनाल , नेकपा एकिकृत समाजवादीका हेमन्त कंडेल लगायतले गबन्धनका सबै एकजुट भएर सबै उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिएका थिए ।