रत्नप्रिय कप अन्तर्गत पहिलो क्वाटर फाईनल खेलमा २८ बिगाहा फुटबल क्लव बिजयी
रत्ननगर, १७ मंसिर ।रत्ननगरको टिकौलीमा जारी प्रथम रत्नप्रिय कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो क्वाटर फाईनल खेलमा २८ बिगाहा फुटबल क्लव नवलपरासी बिजयी भएको छ । खैरहनी फुटबल क्लवलाई २ का विरुद्ध ४ गोल गर्दै २८ बिगाहाले जित निकालेको हो । जित संगै २८ बिगाहा फुटबल क्लव सेमी फाईनलमा प्रवेश गरेको छ ।
आजको खेलमा २८ बिगाहाका खेलाडी प्रकाश पुन मगर म्यान अफ द म्याच घोषित भएका छन् । चितवन जिल्ला क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हरी ढकालले आजको खेल उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बोल्दै ढकालले पूर्वी चितवनको खेल क्षेत्रलाई विकास गरि खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्न आफुले भूमिका खेल्ने बताए । प्रतियोगिता अन्तर्गत सोमबार हुने दोश्रो क्वाटर फाईनल खेलमा रत्नाप्रिय क्लव ए र कालिका ५ फुटबल क्लवको भिडन्त हुने आयोजक क्लवका अध्यक्ष बसन्त रानामगरले जानकारी दिए ।
“स्वास्थ्को लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ रत्ननगर–९ मा रहेको रत्नप्रिय क्लवको आयोजनामा यही मंसिर १२ गतेदेखि सुरु भएको प्रतियोगिता यही मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैँया, द्धितिय हुने टिमले ५५ हजार ५ सय ५५ रुपैँया साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र , म्यान अफ द म्याच लगाएतका खेलाडीलाई जनही ५ हजार रुपैया पुरस्कारप्रदान गरिने आयोजकले जनाएको छ ।