जुनियर जेसीजको लिडर्स एकेडेमी खैरहनीमा सुरु
चितवन , १९ कार्तिक । जुनियर जेसीजको ११ औं राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी चितवनको खैरहनीमा सुरु भएको छ । नेपाल जेसीजको आयोजना तथा पर्सा खैरहनी जुनियर जेसीजको आतिथ्यतामा दुईतिने लिडर्स एकेडेमी खैरहनीमा आजबाट सुरु भएको हो । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले जेसीजले व्यक्तित्व विकाससँगै सामाजिक विकासको क्षेत्रमा समेत अग्रसर हुनुपर्ने बताए । जेसीजको संगठन देशैभरी भएकोले स्थानिय सरकारसँग मिलेर जेसीजले समाजमा प्रत्येक्ष प्रभाव पार्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले लिडरसिपलाई उद्यमशिलतासँग जोड्दै लानुपर्ने बताए । नेतृत्व विकासले मात्रै नहुने भन्दै उनले उद्यमशिलतालाई समेत प्राथमिकता दिनुपर्ने बताए । नेपाल जेसीज बर्ष २०२२ को कार्यकरिणी उपाध्यक्ष अनिलवावु शाहीले जेसीज भनेको सिक्ने र सिकाउने संस्था भएको बताए । जेसीजमा आवद्ध भएका व्यक्तीहरु विभिन्न क्षेत्रमा नेतृत्वदाही भूमिकामा पुगेको उनले बताए ।
जुनियर जेसीजको राष्ट्रिय संयोजक विदुर खनालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा पर्सा खैरहनी जेसीजका संस्थापक अध्यक्ष केशवराज पाठक , पर्सा खैरहनी जेसीजका पुर्व अध्यक्ष तथा खैरहनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शंकर कंडेल , पुर्व अध्यक्ष गुणराज श्रेष्ठ , पर्सा खैरहनी जेसीजका अध्यक्ष प्रकाश उप्रेती , पर्सा खैरहनी जुनियर जेसीजकी अध्यक्ष शेलिसा आचार्य ,जुनियर जेसीजको क्षेत्र ख संयोजक शिवानी के.सी , पर्सा खैरहनी जुनियर जेसीजका संस्थापक अध्यक्ष तथा एकेडेमी निर्देशक पवन रैला लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा देशभरकी २९ वटा जुनियर जेसीज शाखाका पदाधिकारी तथा सदस्यहरु, नेपाल जेसीजका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको एकेडेमी निर्देशक पवन रैलाले जानकारी दिए । एकेडेमीको मुख्य प्रशिक्षकको सेवक बजगाईले सहभागीहरुलाई प्रशिक्षण दिने एकेडेमी निर्देशक रैलाले बताए ।