रवि लामिछानेविरुद्ध अर्को उजुरी, दल सदस्यसहित पद नै खारेजको माग
काठमाडौं, २० मंसिर | नागरिकता विवादका कारण नवनिर्वाचित सांसद रवि लामिछानेको मुस्किल थप बढ्ने देखिएको छ । नागरिकताका सम्बन्धमा सरकारले छानबिन गरिरहँदा उनीविरुद्ध निर्वाचन आयोगमा अर्को निवेदन परेको छ । समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल ‘सफल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेविरुद्ध निवेदन दिएका हुन् ।
लामिछानेको साधारण सदस्यता समेत खारोज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । नेता सफलले सोमबार आयोगमा निवेदन दिएका हुन् । लामिछानेले राजनीतिक दल खोल्न र सो दलको साधारण सदस्य हुन, अध्यक्ष वा सभापति हुन समेत नसक्ने कानूनी व्यवस्था विपरित रास्वपा दर्ता गरेको उनको आरोप छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा उनलाई कुनै आपत्ति छैन् । तर नेपाली नागरिकता नै नभएका लामिछाने कुनै पनि दलको नेतृत्व तह त साधारण सदस्य समेत बन्न नपाउने उनको तर्क छ ।
सोही कारण लामिछानेको सभापति पदसँगै साधारण सदस्यता पनि खोस्न निर्वाचन आयोगसँग अनुरोध गरिएको हो । लामिछानेलाई सभापति र साधारण सदस्यबाट तत्काल हटाउनका लागि रास्वपालाई निर्देशन दिन पनि अनुरोध गरिएको छ ।