बेल्जियमका स्ट्राइकर हजार्डले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
बेल्जियमका स्ट्राइकर एडेन हजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । हजार्डले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । कतारमा जारी विश्वकप फुटबल २०२२ मा बेल्जियम समुह चरणबाटै बाहिरिएपछि हजार्डले सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणासँगै हजार्डले आज फुटबलको एक पाना पल्टिएको बताउँदै आफुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको इन्स्ट्राग्राममा लेखेका छन् । साथै सन् २००८ देखि अहिलेसम्म साथ दिने बेल्जियमका फुटबल प्रेमीहरुलाई धन्यवाद समेत दिएका छन् ।
३१ वर्षिय स्ट्राइकर हजार्डले सन् २००८ मा १७ वर्षको उमेरमा बेल्जियमको राष्ट्रिय टीममा पदार्पण गरेका थिए । उनले बेल्जियमको राष्ट्रिय फुटबल टीमवाट १२६ खेल खेल्दै ३३ गोल गर्न सफल भएका थिए ।
फिफा वरियतामा दोश्रो स्थानमा रहेको बेल्जियम कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप २०२२ को समुह चरणबाटै बाहिरिएपछि निकै आलोचना भएको थियो । बेल्जियमका फुटबल प्रेमीहरुले सड्कमै उत्रिएर सर्वजनिक स्थलमा तोडफोड र आगजनी समेत गरेका थिए ।