कांग्रेस ,एमाले वा बाम एकताको संभावना तत्कालै छैन,देउवाकै नेतृत्वमा सरकार बन्छ:पाण्डे
चितवन , २२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकारमा जाने दौडमा नरहेको स्पष्ट पारेका छन् । आज प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले अहिले शेर बहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने संभावन उच्च रहेको बताए ।
अहिले तत्कालै कांग्रेस र एमाले मिलेर सरकार बनाउने सम्भावना तथा बाम एकताको संभावना नरहेको उनले प्रष्ट पारे । अहिले कुनै दलको स्पष्ट बहुमत नभएकाले सरकार पनि कमजोर हुने उनले दावी गरे । धैरै दल मिलेर सरकार बनाउदा भागबण्डाको किचलो मिलाउन प्रधानमन्त्रीलाई सकस हुने उनको धारणा छ । भागबण्डा मिलाउन अब मन्त्री पद बिक्रिमा रहने पाण्डेको जिकिर छ । अहिलेको अवस्थाले राजनितिकसंगै आर्थिक संकट समेत आउनेमा आफू सशंकित रहेको उनले बताए । देश संकटमा परेर एमालको साथको आवश्यकता महसुस भए एमाले पछि नपर्ने उपाध्यक्ष पाण्डेले बताए ।