कतार विश्वकप फुटबल सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया, फ्रान्स र मोरक्को खेल्ने
काठमाडौं । कतारमा जारी फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो। फ्रान्सले कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो। कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १-० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो। यो सँगै यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्।
पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन्। अर्जेन्टिना र क्रोएसियाबीचको खेल मंगलबार राति पौने १ बजे हुनेछ। क्रोएसियाले क्वाटरफाइनलमा ब्राजिललाई हराएको थियो। अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।