पूर्वका तीन जिल्लामा हिंसाका घटनामा वृद्धिः आयोग
खोटाङ, २५ मंसिर | राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटना बढिरहेको तथ्यंक सार्वजनिक गरेको छ । ७४औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३१औं लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा आयोगको प्रदेश १ शाखा कार्यालय दिक्तेलले तीन जिल्लामा सम्बन्ध बिच्छेद, महिला हिंसा, घरेलु हिंसा, बाल हिंसाका घटना बढिरहेको जानकारी दिएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित कार्यक्रममा मानव अधिकार अधिकृत नेत्र गौतमले हत्याका घटना बढिरहेको, समयमै दोषी पत्ता लगाउन नसक्दा न्यायिक अधिकारबाट वञ्चित हुनु परेको देखिएको औंल्याएका छन् । आयोगले प्रस्तुत गरेको मानव अधिकार अवस्थाको संक्षिप्त झलकमा तीन जिल्लामा आत्महत्या दर पनि बढ्दोक्रममा रहेको उल्लेख छ ।
यस्तै, अदालतको फैसला हुँदा समेत नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित भएको, जन्मदर्ताको अधिकारबाट वञ्चित भएको, कारागारको भौतिक संरचना व्यवस्थित हुन नसकेको पाइएको आयोगले जनाएको छ । नेपाल सरकारको मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना र दिगो विकासको लक्ष्य प्राप्ति गर्नेसम्बन्धी क्रियाकलाप कार्यान्वयन हुन नसकेको, चार स्थानीय तहबाहेक अन्यले महिलासम्बन्धी नीति, कानून तर्जुमा गर्न नसकेको मानव अधिकार अधिकृत गौतमले बताए ।
आयोगले दर्ता भएका ५५ उजुरीमध्ये ४६ वटा उजुरीउपर अनुसन्धान सम्पन्न गरी निर्णयार्थ पेश गरेको, मानव अधिकार उल्लंघनका घटनामा आरोपित बहालवाला प्रदेश सांसद, पूर्वप्रजिअलगायतका कर्मचारी गरी ४२ जनालाई प्रमाण पेस गर्न र सफाया पेस गर्ने मौका दिइएको जानकारी दिएको छ । यस्तै, मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको लागि तीनै जिल्लाका समन्वय समिति र पालिकामा पत्राचार र सात पालिकामा अन्तरक्रिया गरेको, महिला र बालबालिका, ज्येष्ठ नागरिक, अल्पसंख्यक, वातावरण र विकास, शिक्षा स्वास्थ्य लगायतका विषयगत अनुगमन र अन्तरक्रिया गरिएको जानकारी दिएको छ ।