लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन
चितवन , २५ मंसिर । सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नारा सहितको यस बर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज समापन भएको छ । खैरहनी गरपालिकाकाले १६ दिनमा गरेका विभिन्न कार्यक्रमको समिक्षा गर्दै आज १६ दिने अभियानको समापन गरेको हो ।
अभियान अन्तर्गत नगरपालिकाले विभिन्न आमा समूह , महिला सहकारीहरुसँग सहकार्य गर्दै विभिन्न वडामा लैङ्गिक हिंसा विरुद्धको कार्यक्रमहरु गरेको थियो । कार्यक्रममा खैरहनी नारी चेतना बचत ऋण सहकारीकी अध्यक्ष सुशिला उप्रेती , मेलमिलाप केन्द्र खैरहनी नगर सदस्य सुशिला पाण्डे लगायतले लैङ्गिक हिंसा भन्न साथ हामिले महिला हिंसा भनेर बुझ्ने गरेतापनि त्यसो नभएको र अहिले पुरुषहरु पनि हिंसामा परेको धेरै घटना बाहिर आएको बताए । उनीहरुले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला समेत देशका विभिन्न क्षेत्रमा हिंसाकै कारण महिलाहरुले ज्यान गुमाएको घटना भइरहेको भन्दै सबैले आफ्नो परिवार भित्र हुने हिंसाहरु बन्द गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा खैरहनी नगरपालिकाको सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेतीले लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउनेहरुकै घरमा हिंसाको घटनाहरु आउने गरेकोतर्फ इंकित गर्दै सबैभन्दा पहिला आफैबाट परिवर्तनको सुरुवात गर्नुपर्नेमा जोड दिए । उनले समाजमा देखावटी रुपमा नभई अन्तरआत्मादेखी नै सबैजना लैङ्गिक हिंसा विरुद्ध लाग्ने हो भने समाजमा हुने हिंसाका घटनाहरुमा कमी आउने बताए ।
खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिनमा मात्रै सिमित गर्न नहुने भन्दै बर्षभरी नै सबैजना सचेत भएर लाग्नुपर्ने बताए । लैङ्गिक हिंसाहुनुमा गरिवी र वेरोजगारी पनि समस्याको रुपमा देखिएकाले नगरपालिकाले उद्यमशिलताको क्षेत्रमा विशेष जोड दिएको उनले बताए । उनले लैङ्गिक हिंसा विरुद्धको अभियानमा लाग्ने समूह तथा अभियान्ताहरुले बुदाँगत रुपमा नगरपालिकालाई सल्लाह , सुझाव दिए त्यसलाई सम्बोधन र कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा कार्यपालिका सदस्य गोमादेवी भुजेल , खैरहनी नगरपालिकाकाको महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कृष्णा कुमारी गुरुङ्ग लगायतले बोलेका थिए ।