समानुपातिकतर्फ उदयपुरबाट ४ महिला सांसद
काठमाडौँ । समानुपातिकमा प्रदेशसभा १ मा उदयपुरबाट चार जना महिला सांसद छनोट भएका छन् । मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ उदयपुरले चार जना महिला सांसद पाएको हो । ०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ २ र प्रदेशतर्फ ४ सांसद पाएको उदयपुरले यसपटक प्रतिनिधिसभा तर्फ रित्तो हुन पुग्यो । नेकपा एमालेबाट २, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट १–१ जना महिलाले प्रदेश १ को समानुपातिक सांसद हुने मौका पाएका छन् ।
सबैभन्दा धेरै मत पाएको एमालेले सृजना दनुवार र गीतादेवी रेग्मीलाई सांसद बनाएको छ । कांग्रेसबाठ लिलादेवी राई र माओवादी केन्द्रबाट सम्झना तामाङ (योद्धा) समानुपातिकमा परेका छन् ।
प्रदेश १ मा खसेको १८ लाख १३ हजार २६५ मतमध्ये सबैभन्दा बढी ६ लाख ६५ हजार ४६० मत पाएको एमालेले २५ सांसद पठाएको छ । दोश्रो ठूलो मत पाँच लाख ६२ हजार ९७६ पाएको कांग्रेसले १७ जना सांसद बनाउँदा चौथो स्थान प्राप्त माओवादीले एक लाख ८१ हजार ४४५ मत पाएर ९ जना सांसद पठाएको छ । एक लाख ९२ हजार ५११ मत पाएर तेश्रो बने पनि राप्रपाले भने उदयपुरलाई समानुपातिकको स्थान दिएको छैन । जसपा, लोसपालगायत विभिन्न ३६ दलले भाग लिए पनि समानुपातिक सिट कायम गर्न भने असमर्थ रहे ।