अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या
पाल्पा। पाल्पाको पूर्वखोला गाउँपालिका–१ की सुकमाया हिस्की छोरा पढाउन बुटवल बस्छिन्। उनको छोरालाई अटिजमसम्बन्धी समस्या देखिएपछि उनी त्यस्तै पाठशालाको खोजीमा लागिन्।
पाल्पाबाट बुटवल गएकी सुकमाया छोरालाई पढाउन गुल्मी आउनुपर्यो। ‘बच्चामा समस्या देखिएपछि मैले बाँधेर राख्ने र कोठामा थुन्ने गर्थें, उनी भन्छिन्, ‘गुल्मीमा यस्तो पाठशाला छ भनेपछि म यहीँ आएँ’।
शिक्षक नहुँदा आफू दिनभर पाठशालामै बस्न बाध्य हुनुपरेको उनले बताइन्। शिक्षकसँगै आवाससहितको सुविधा भएमा धेरै राहत हुने सुकमायाको भनाइ छ।
गुल्मीको रुरुक्षेत्र–१ की रीता पाण्डे पौडेल पनि आफ्नो सन्तानले अस्वाभाविक क्रिया देखाएपछि पिरलोमा थिइन्। समस्या पहिचान नभएपछि सन्तानलाई घरमै राख्न बाध्य भएकी उनी अटिजम पाठशालाको सम्पर्कमा आएपछि राहत मिलेको छ। बच्चालाई लिएर आएका अभिभावकले एकापसमा सिकाउँदा अटिजम भएका बालबालिकाको सिकाइमा केही परिवर्तन आए पनि शिक्षक नहुँदा आफूहरूलाई समस्या देखिएको पाण्डेले बताइन्।
अभिभावक सुकमाया, रीता र अर्की विमला परियारले स्वयंसेवकका रूपमा अन्य बालबालिकाको सिकाइलाई सहजीकरण गर्दै आएका छन्। अटिजम मस्तिष्कको विशेष अवस्था हो। अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप, सञ्चारसम्बन्धी सीप र सिकाइको क्षमता कम हुन्छ।