टुगाको चौथो सेवा केन्द्र भैरहवामा, बुझेर मात्रै सहकारीमा लगानी गर्न आग्रह
भैरहवा, २८ मंसिर | रुपन्देहीको ओमसतिया-१ कटैयामा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडले भैरहवा सेवा केन्द्रको शुभारम्भ गरेको छ । वर्षाैदेखि यस क्षेत्रमा सेवा दिँदै आएकोले सदस्यहरूको सहजताको लागि सेवा केन्द्र विस्तार गरेको हाे ।भैरहवामा सेवा केन्द्र शुभारम्भ गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले रगत र पसिनाको कमाइबाट जाेगाएको पैसा सर्वसाधारणले सहकारीमा विश्वास गरेर जम्मा गर्ने भएकाले विश्वासमाथि घात गर्ने जुनसुकै संस्था कारवाहीको दायरामा ल्याउने बताए । सहकारीमा जम्मा भएको पैसा सुरक्षित गर्ने काम सहकारीको सञ्चाचालकको भएकोले उनीहरूलाई बुझेर विश्वास दिलाउनु पर्ने बताए ।
राष्ट्रिय सहकारी महासंघका संचालक भीमप्रसाद तुलाचन, सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनाल, बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराई, लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश केसी, सहकारीका शेयर सदस्य तथा पत्रकार मनोरञ्जन शर्माले आयतित सहकारी दुर्घटनामा परेकोले नजिकैको सहकारीमा कारोबार गर्नुपर्ने, सहकारी सबैको लागि समान हुने भएकोले सोही अनुसारको व्यवहार हुनुपर्ने, सहकारी विपन्नको सारथी बन्नुपर्ने, ब्याजको लोभमा नपरी सहकारीलाई राम्रोसँग बुझेर मात्र कारोबार गर्न आग्रह गरे । २८ मंसिर ०६२ स्थापना भएको सहकारीमा ६ हजार एक सय ३५ जना शेयर सदस्य रहेका छन् । तीन वर्षअघि मात्रै तीन वटा सहकारी एकीकरण भई टुगाले ७४ करोडभन्दा बढिको शेयर पुजी बनाएकाे छ ।