भारतिय दुतावासको सहयोगमा निर्माण गर्न लागिएको तटबन्धको शिलान्यास
चितवन , २८ मंसिर । भारतिय महावाणिज्य दुतावासको सहयोगमा खैरहनी स्थित ढुङ्ग्रे खोलामा निर्माण गर्न लागिएको तटबन्धनको आज शिलान्यास गरिएको छ । बिरगंज स्थित भारतिय महावाणिज्य दुतावासका महावाणिज्यदुत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले संयुक्त रुपमा आज तटबन्धनको शिलान्यास गरेका हुन् । भारतिय महावाणिज्य दुतावासको सहयोगमा ४ करोड ५ लाख ९८ हजार लागतमा तटबन्धन र एप्रोनको काम सुरु गरिएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । २०८० असार २४ गतेभित्र काम सम्पन्न गर्ने गरि २०७९ बैशाख ९ गते सम्झौता भएको शर्माले बताए । भारत नेपाल विकास साझेदारी अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा खैरहनी नगरपालिका वडा नम्बर ७ र १० को सिमानामा पर्ने ढुङ्ग्रे खोलामा तटबन्धन र एप्रनको काम सुरु भएको भारतिय महावाणिज्य दुत नितिश कुमारले जानकारी दिए । तोकिएकै समयमा काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनले बताए । सन् २००३ यता भारतले करिब ५ सय ३२ को योजना संचालन गरेको जसमध्य ४ सय ७५ परियोजना स्वास्थ्य , शिक्षा , खानेपानी ,सरसफाईको क्षेत्रमा रहेको उनले बताए । बागमती प्रदेशमा मात्रै १ सय ३ वटा र चितवनमा मात्रै ९ वटा परियोजना रहेको महावाणिज्य दुत नितिश कुमारले बताए । भारत र नेपाल सांस्कृतिक , व्यापारिक , अर्थतन्त्र लगायत पारिवारिक किसिमको सम्बन्ध रहेको भन्दै त्यसलाई आगाडी बढाउन एकआपसमा सहकार्य गर्ने उनले बताए ।
शिलान्यस कार्यक्रमको अवसरमा महावाणिन्य दुत नितिश कुमारले खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँलाई पहिलो किस्ता वाफतको ७३ लाख ४९ हजार ६ सय ७६ रुपैयाँको चेक समेत हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले खैरहनीको समस्याको रुपमा रहेको नदी कटान र डुवानको समस्यालाई आफ्नै समस्याको रुपमा लिएर भारतिय महावाणिज्य दुतावासले योजना पारेकोमा खुसी व्यक्त गरे । उक्त ठाँउमा शिक्षाको क्षेत्रमा समेत केहि समस्या रहेकोले शिक्षा क्षेत्रलाई समेत बार्षिक कार्यक्रममा समावेश गरेर सहयोग गर्न आग्रह गर्दैै आगामी दिनमा समेत सहयोग पाउनेमा विश्वस्त रहेको बताए । कार्यक्रममा खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेती , विभिन्न वडाका वडाअध्यक्षहरु ,कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु लागायतको उपस्थिती रहेको थियो ।