चितवन गार्डेन रिसोर्टले तीन लाख तिरेपछि शिल खोलियो
चितवन, ५ पुस । चितवन गार्डेन रिसोर्ट (सिजिआर)ले तीन लाख रुपैयाँ जरिवाना तिरेपछि दुई वटा किचनमा लगाइएको शिल खोलिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा गठित अनुगमन समितिले आइतबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई अनुगमन प्रतिवेदन बुझाएको थियो ।
प्रजिअ तामाङले प्रतिवेदन अनुसार नै सिजिआरलाई ३ लाख रुपैयाँ जरिवाना गर्न आदेश दिएका थिए । सिजिआरले जरिवाना बापतको उक्त रकम आइतबार नै तिरेपछि सिजिआरको दुई वटा किचनमा लगाइएको शिल पनि आइतबार नै खोलिएको अनुगमन समिति संयोजक शर्माले बताए ।
पुस ६ गते (भोलि)सम्म सरसफाइ लगायतका सम्पूर्ण काम चुस्तदुरुस्त राख्नका लागि शिल खोलिएको उनले बताए । भोलिसम्म किचनमा सरसफाइलगायत व्यवस्थापनका काम भएन भने फेरि थप समय दिएर काम गर्न लगाउने र त्यसपछि मात्रै होटल सञ्चालन हुन दिइने उनले बताए । सिजिआरमा बिहे भोज खाएका करिब २०० जना विरामी भएपछि अनुगमन समितिले शिल गरेको थियो ।