नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने
चितवन, ५ । नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक ११ बजे देखि ३ बजे सम्म बन्द हुने भएको छ । उक्त सडकको पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएको कारण आजदेखि गते देखि १ महिना सडक बन्द हुने नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताउनु भयो । नारायणगढ–मुग्लिङ सडक खण्डका मुग्लिङबाट नारायणगढ तर्फको २ नम्बर र ३ नम्बर पुनर्निर्माणको लागि ठुलो काट्नको लागि दैनिक ४ घण्टा सडक बन्द गरेर पहाड काट्ने काम हुने उहाँले बताउनुभयो ।
उक्त सडक खण्डमा १५ वटा पुल निर्माणको काम भइरहेकोमा ९ वटाको काम सम्पन्न भइसकेको छ । ४ वटा पुल निर्माणको लागि ठाडो कडा पहाड काट्नु पर्ने भएको कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भए पछि यातायात बन्द गरेर काम गर्नु परेको आयोजनाले जनाएको छ ।
नारायणगढतर्फबाट जाने यात्रुवाहक सवारीसाधनलाई १५ किलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०:५० बजेदेखि नै रोकिने छ । काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिङ बजारबाट मनकामना केबलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०:५५ बजे रोकिने छ ।
काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०:४५ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ ।
उक्त समयमा वैकल्पीक राजमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । नारायणगढ–मुग्लिङ सडक खण्डमा १ अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।