५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिाछानेले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।
निर्वाचनको एक महिनाअघि उपत्यकाका ४५ ठाउँमा एकसाथ उम्मेदवार सार्वजनिक गर्ने र दुवै पार्टीबाट एकअर्काका उम्मेदवारलाई समर्थन गर्ने भद्र सहमति भएपनि त्यसलाई लामिछानेले पालना नगरेको बताए ।
उनले भद्र सहमति हुँदा काठमाडौं–८ का उम्मेदवार विराजभक्त श्रेष्ठ र काठमाडौं–५ का उम्मेदवार डा. प्रणयशमशेर राणा पनि साथमै भएको बताए । ‘त्यतिबेला सबै ठाउँमा कसलाई कुन ठाउँबाट उठाउने भन्ने पनि लगभग टुंगो लागिसकेको थियो’, खरेलले थपे, ‘तर, अन्तिममा उहाँहरुले काठमाडौं–१ मा पनि उम्मेदवारी दिनुभयो । सम्पर्कमा आउनुभएन, यो इमान्दारिता होइन ।’
विकल्प बताउनेहरु विभाजित हुँदा काठमाडौं–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले जित निकालेका छन् । उनले ७ हजार १४३ मत ल्याउँदा निकटम प्रतिद्वन्द्व रवीन्द्र मिश्रले ७ हजार १८ मत ल्याए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, नेकपा एमालेका किरण पौडेलले ३ हजार ५३२ र नेपाल सुशासन पार्टीका खरेलले ३ हजार १२४ मत ल्याए । अनलाइनखबरसँग कुरा गर्दै खरेलले सोचे अनुसार मत नआएपनि व्यक्तिगतरुपमा खुशी भएको बताए । ‘सिपाही उभिँदा त्यति भोट आउनुले पनि खुशी छु’, उनले भने ।उनले चुनावको तीन/चार महिना अघिदेखि वैकल्पिक शक्तिहरु एकठाउँमा हुनुपर्छ भनेर प्रयास गर्दै आएपनि सफल नभएको बताए ।