सौराहा चोकको कालिका मोटरसाइकल पाटर्समा आगलागी
चितवन , ८ कार्तिक ।
पूर्वी चितवनको रत्ननगरमा रहेको कालिका मोटरसाइकल पाटर्स तथा न्यू कालिका अटो पाटर्समा आगलागी भएको छ । रत्ननगर १ सौराह चोकमा रहेको यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पाटर्सको टाँडी शाखा र न्यू कालिका अटो पाटर्सको स्टोरमा आगलागी भएको हो ।
बिहान करिब पौने ४ बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ३२ स्कुटर तथा मोटरसाइकल जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिए । कालिका मोटरसाइकल पाटर्सको नयाँ स्कुटर तथा मोटरसाइकल र न्यू कालिका अटो पाटर्समा मर्मतको लागि ल्याएका स्कुटर तथा मोटरसाइकल नष्ट भएको हो । आगलागीबाट स्टोरमा रहेको पाटर्सका सामान , कम्प्युटर , कागजपत्र , नगद लगायत पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट साढे दुई करोडभन्दा धेरैको क्षति भएको अनुमान गरिएको कालिका मोटरसाइकल पाटर्सका संचालक उत्तम अधिकारीले बताए । स्थानिय , प्रहरी र दमकलको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।