प्रदेश १ : प्रदेश सभामा पहिलो पार्टी बन्दै एमाले, दोस्रोमा कांग्रेस
९ मंसिर, काठमाडौं | प्रदेश १ प्रदेशसभाको ५६ सिटमध्ये आज बिहान ११ बजेसम्ममा ३३ सिटको नतिजा प्राप्त भइसकेको छ । जसमा एमालेका १३ जना निर्वाचित हुँदा कांग्रेसका १०, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीको २ र राप्रपाका एक जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्राप्त मत परिणाम हेर्दा प्रदेश १ मा एमाले पहिलो पार्टी बन्ने पक्कापक्की जस्तै देखिन्छ । यस्तै बाँकी रहेका २३ निर्वाचन क्षेत्रमध्ये एमाले ८ स्थानमा अगाडि छ । यस्तै काँग्रेस ६ स्थानमा अगाडि हुँदा माओवादी केन्द्र २ स्थानमा अगाडि छ । नेकपा एस अन्य २ स्थानमा अगाडि छ । अन्य ५ क्षेत्रको प्रारम्भिक मतगणना सार्वजनिक भएको छैन । यस्तै नेकपा एमाले प्रदेशको समानुपातिक मतमा पनि अग्रस्थानमा छ । एमालेले हालसम्म १ लाख ९२ हजार २३७ मत ल्याएर पहिलो स्थान बनाउँदा काँग्रेस १ लाख ८० हजार ८८६ मतका साथ दोस्रो स्थानमा छ । प्रत्यक्षतर्फ पनि र समानुपातिकतर्फ पनि पहिलो स्थान काम गरेको एमाले प्रदेश १ को प्रदेशसभामा पहिलो नै बन्ने पक्का देखिन्छ । हालसम्मको मतगणनामा समानुपातिक तर्फ माओवादी केन्द्र र राप्रपाले तेस्रो स्थानमा कडा प्रतिस्पर्धा गरिरहेका छन् । माओवादी केन्द्रले ६२ हजार ५८५ मत ल्याउँदा राप्रपाले ६१ हजार ४२६, जसपाले २९ हजार १५७, नेकपा एसले १४ हजार ४५६, जनमत पार्टीले ८ हजार ७५२ र हाम्रो नेपाली पार्टीले ७ हजार ५३७ मत ल्याएको छ । प्रदेश १ मा समानुपातिक तर्फ ३६ वटा पार्टीले प्रतिस्पर्धा गरिरहेका छन् ।