काठमाडौं क्षेत्र नम्बर १ मा निर्वाचित प्रतिनिधि सभाका सांसद सिंहले लिए प्रमाणपत्र
काठमाडौं, मंसिर ९ । काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद प्रकाशमान सिंहले आफू निर्वाचित भएको प्रमाण पत्र लिनुभएको छ । काँग्रेस नेता सिंहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शुक्रवार एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको हो । काँग्रेस नेता सिंहले ७ हजार १४३ मत ल्याई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पराजित गर्नुभएको थियो ।
मिश्रले ७ हजार १८ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १ का प्रदेशसभा १ का सांसद दीपेन्द्र श्रेष्ठ र प्रदेशसभा २ का सांसद सुरजचन्द्र लामिछानेलाई पनि प्रदेशसभाबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत खतिवडाले श्रेष्ठ र लामिछानेलाई सो प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खतिवडाले प्रतिनिधि सभामा निर्वाचित सांसद सिंह र प्रदेश सभाका निर्वाचित सांसदद्वय श्रेष्ठ र लामिछानेलाई बधाईसमेत दिनुभएको थियो ।