ब्राजिललाई स्वीट्जरल्यान्डको चुनौती
काठमाडौँ, १२ मंसिर | पहिलो खेलमा क्यामरुनलाई पराजित गरेको स्वीट्जरल्यान्ड पनि यो समूहबाट अन्तिम १६ मा पुग्ने दाबेदार टिम हो । पहिलो खेलमा क्यामरुनलाई १–० ले पराजित गरेको स्वीट्जरल्यान्ड समेत सहज अवस्थामा छ । स्वीट्जरल्यान्डलाई जित दिलाउँन ब्रिल इम्बोलोले निर्णायक गोल गरेका थिए । मुरत याकिनको प्रशिक्षणमा रहेको स्वीट्जरल्यान्डसँग ब्राजिललाई हराउन सक्ने क्षमता छ । समूहमा समान तीन अंक जोडेका ब्राजिल र स्वीट्जरल्यान्ड तालिकाको क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । आजको खेलमा विजयी हुने टिमले अन्तिम १६ को यात्रा लगभग पक्का गर्नेछ । कतारको ९७४ रंगशालामा यो खेल नेपाली समयानुसार राति ९:४५ बजेदेखि सुरु हुनेछ । यी दुई टिमबीच हालसम्म नौ अन्तर्राष्ट्रिय खेल भएका छन् । त्यसमध्ये तीन खेल ब्राजिलले जितेको छ । दुई खेलमा स्वीट्जरल्यान्ड विजयी भएको छ । यी दुई टिमबीचका चार खेल बराबरीमा सकिएको थियो । विश्वकपमा यसअघि ब्राजिलले दुईपटक स्वीट्जरल्यान्डविरुद्ध खेलेको छ । दुवै खेल बराबरीमा टुंगिएको थियो ।