आन्दोलनमा उत्रिए सुकुम्बासी, महानगर पछाडि नहट्ने
काठमाडौं, १३ मंसिर । काठमाडौं उपत्यकाका सुकुम्बासीले मंगलबार काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । तर, बस्ती हटाउन महानगर पछाडि नहट्ने भएको छ । आफूहरू ‘एक्सन’मा उत्रिइसकेकाले हटाउनुपर्ने बस्ती हटाएरै छाड्ने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । “सुकुम्बासीहरूले आफ्नो हिसाबले के गर्छन्, त्यो हाम्रो विषय होइन । तर, हटाउनैपर्ने बस्ती हटाएरै छाड्छौँ । छलफल भइरहेको छ,” उनले भने । सोमबार थापाथलीस्थित प्रसूतिगृह पछाडिको सुकुम्बासी बस्तीमा झडप हुँदा महानगरका ३६ नगर प्रहरी घाइते भएका थिए । घाइतेहरूको उपचार जारी छ । उनीहरू घरेलु हातहतियारसहित महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध उत्रँदा दिनभर बस्ती तनावग्रस्त बनेको थियो । गैरसुकुम्बासीले पनि अवैध रूपमा घरटहरा बनाएर बस्दै आएको महानगरको जिकिर छ ।