दुई प्रदेशमा समानुपातिकतर्फ राप्रपाले माओवादीलाई उछिन्यो
काठमाडौं, १३ मंसिर । समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई प्रदेशमा नेकपा (माओवादी केन्द्र)लाई पछाडि पारेको छ । प्रदेशसभातर्फ प्रदेश नम्बर–१ र वाग्मती प्रदेशमा राप्रापाले माओवादी केन्द्रलाई पछाडि पार्दै तेस्रो हैसियत कायम गरेको हो ।जारी मतगणनाअनुसार वाग्मती प्रदेशमा सबैभन्दा धेरै मत नेकपा (एमाले)ले ल्याएको छ । १७ लाख ७१ हजार ९९ मतगणना हुँदा एमालेले पाँच लाख ३३ हजार ९६३ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले चार लाख ४६ हजार ८३६ मत प्राप्त गरेको छ । वाग्मतीमा कांग्रेस र एमालेपछि सबैभन्दा बढी मत ल्याउने पार्टी राप्रपा भएको छ । राप्रपाले दुई लाख ६२ हजार २३ मत पाएको छ । राप्रपालाई पछ्याउँदै गरेको नेकपा (माअोवादी केन्द्र) दुई लाख ५८ हजार १११ मत ल्याएको छ । प्रदेश–१ मा पनि राप्रपाले माओवादी केन्द्रलाई पछाडि पारेको छ । प्रदेश–१ मा १७ लाख १५ हजार ५०७ मतगणना हुँदा त्यहाँको पहिलो पार्टी एमाले नै छ । एमालेले पाँच लाख ९९ हजार ९५९ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले पाँच लाख तीन हजार १६३ मत पाएको छ । तेस्रो स्थानमा रहेको राप्रपाले एक लाख दुई हजार ९०९ मत ल्याएको छ । माओवादी केन्द्र एक लाख ६ हजार ७०४ मत पाएको छ ।