सुनसरी ३ ‘ख’ जितेमात्र प्रदेश १ मा गठबन्धन सरकार !
काठमाडौँ, १३ मंसिर । प्रेदश नं. १ मा गठबन्धनको सरकार बन्ने वा नबन्ने सुनसरी क्षेत्र नम्बर ३ ‘ख’ को परिणाममाथि निर्भर हुने भएको छ । प्रत्यक्ष र समानुपातिकतर्फ सम्भावित मत परिणामअनुसार सत्ता गठबन्धन र नेकपा (एमाले) तथा एमालेसँग तालमेल गरेका दलहरुले प्राप्त गर्ने सिट बराबर देखिएको छ । प्रदेश १ मा सरकार गठन गर्न ४७ सिट आवश्यक पर्छ । अहिलेसम्मको परिणामले गठबन्धन र एमाले बराबर समान ४६ को अवस्थामा रहने देखिएको छ । प्रत्यक्ष तर्फका ५६ मध्ये ५५ वटा निर्वाचन क्षेत्रको परिणामले सत्ता गठबन्धन केही सिटले अगाडि देखिन्छ । तर, समानुपातिक मतमा एमाले र राप्रपाको अग्रताले सत्तापक्षको बहुमत पुग्ने नपुग्ने भन्ने अन्योल छ । सुनसरीको क्षेत्र नम्बर ३ ‘ख’ मा मतगणना जारी छ । यो क्षेत्रमा एमालेले अग्रता लिइरहेको छ । त्यहाँ उसको विजय भए एमाले–राप्रपा–जसपाको गठबन्धनको प्रत्यक्षतर्फको सिटसंख्या २७ पुग्नेछ । सुनसरी ३ ‘ख’ कांग्रेसका उमेदवार विजयी भए सत्ता गठबन्धनको प्रत्यक्षतर्फ ३० सिट हुन्छ । प्रदेश एकको ९३ सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ २ सिटको अन्तर हुन गएमा समानुपातिक तर्फको मतका कारण एमाले–राप्रपा–जसपाको त्रिशंकु सरकार गठन हुन्छ । समानुपातिकतर्फ कूल सदरमत १४ लाख ४१ हजार १३ गणना हुँदा एमालेले पाँच लाख ९९ हजार ९५९ मत प्राप्त गरेको छ । एमाले पहिलो नम्बरमा छ । यसैगरी दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसको पाँच लाख तीन हजार १६३, राप्रपाको एक लाख ८२ हजार ९०२ मत पाएको छ । चौथो रहेकोे नेकपा (माओवादी केन्द्र)ले एक लाख ६८ हजार ७३४, जसपाको ५५ हजार ३१७ र नेकपा (एकीकृत समाजवादी)को ५० हजार ८७५ मत आएको छ । अरु दलले प्रदेश १ मा थ्रेसहोल्ड कटाउन सकेका छैनन् । कूल मतको एक दशमलव पाँच प्रतिशत मत ल्याएमात्र थ्रेसहोल्ड पुग्छ । प्राप्त समानुपातिक मतलाई आधार बनाएर कूल सिट संख्याको आधारमा गणना गर्दा प्रदेश १ मा एमालेले १४, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले चार–चारवटा, जसपाले दुई र नेकपा एसले एक सिट पाउने देखिएको छ । यसआधारमा समानुपातिकबाट गठबन्धनले २० सिट प्राप्त गर्छ । एमाले नेतृत्वको गठबन्धनले २० सांसद समानुपातिकबाट ल्याए प्रत्यक्षतर्फको २६ जोड्दा कूल संख्या ४६ मात्र पुग्छ । कांग्रेसले सुनसरी ३ ‘ख’ जितेमा प्रत्यक्षमा ३० हुँदा समानुपातिक १७ जोड्दा बहुमत ४७ पुग्नसक्छ । निर्वाचन आयोगको तथ्यांकअनुसार सुनसरीको निर्णायक मानिएको क्षेत्रमा एमाले उमेदवार रामदेव यादवले अग्रता कायम गरिरहेका छन् । उनले १५ हजार ३८० मत प्राप्त गर्दा कांग्रेसका बिन्देश्वर यादवले १४ हजार ३१५ मत प्राप्त गरेका छन् ।