सुकुम्बासी बस्तीमा राज्यले आतंक फैलायो : केपी ओली
काठमाडौँ, १३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।अध्यक्ष ओलीले बल प्रयोग गरेर सुकुम्बासी बस्तीमा रहेका गरिब नागरिकलाई शत्रुको रुपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरुलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई सचेत गराए । ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सुकुम्बासी समस्या समाधानका लागि गठन गरिएको आयोगले त्यो समस्या समाधान गर्नुपर्नेमा अन्यथा किन गरिएको पनि प्रश्नसमेत गरे । ओलीले सो बस्तीको समस्या समाधानका लागि लोकतान्त्रिक संस्कार अनुसार अघि बढन पनि काठमाडौं महानगरपालिका र सरकारको गम्भीर ध्यानाकर्षण गराए । “नकारात्मक ढंगले देश बन्दैन । हिजो बेलुका टीभीमा तपाईंहरुले हेर्नुभयो होला सुकुम्बासी बस्तीमा तमासा । त्यहाँ तमासा गर्ने हाकिमहरुको भनाई–पुलिसले मद्दत नै गरेन नत्र हामी जित्थ्यौं । तिनीहरुलाई पराजित गर्थ्यौँ हामी । तिनीहरुलाई पराजित गरेर हामी त्यो बस्तीलाई ध्वस्त बनाउथ्यौं । शत्रु देशसँगको भाषा, शैली । त्यहाँ कुन शत्रु बसेका छन् ? गरिब, गुरुवा बसेका छन् । ती कुनै शत्रु त होइनन् । सरकारले पूरा मद्दत गरिदिएन । पुलिस समयमा आइदिएन । पुलिस समयमा आएको भए ठिक लाइन्थ्यो, सोझ्याइन्थ्यो । के भनेको त्यो ? चुप लागेर खोलाको किनारामा बसेका जनतालाई ठिक लगाएर कुन बहादुर पाइन्छ ? समस्याको समाधान गर्ने तरिका के हो ? के गरिब जनतालाई पराजित गरेर को विजयी हुने । यो जित–हारको प्रश्न होइन । यो समस्या समाधानको प्रश्न हो । बलबाट डेमोक्रेसीमा समस्या समाधान गरिँदैन । लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन। उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण ढंगले समाधानमा पुर्याउनु पर्दछ । तर, त्यहाँ त सुकुम्बासी र राज्यका बीचमा हारजित जस्तो । आज नराम्रोसँग हार खानु पर्यो । सरकारका सबै अंगले साथ नदिएको हुनाले आज पराजित हुनुपर्यो । राम्ररी साथ दिएको भए हामी जित्थ्यौं । के भनेको त्यो ? हामी उडाई दिन्थ्यौं, भत्काई दिन्थ्यौं । तोडफोड गरिदिन्थ्यौं । तिनीहरुलाई हामी पराजित गरिहाल्थ्यौ नि हामी । तिनीहरुका ढुंगामुडाले के हुन्थ्यो गोली हानेको भए । अर्थ यिनै छन् है । शब्द फरक भए पनि । भाव त्यही छ । अनि सरकारको आदेश अनुसार तिनीहरुलाई पराजित गरेर खाली गराउन डटेर लागेको छु । एउटा सुख, सयलमा बसेको मान्छेले गरिवका भावना र पीडाहरुलाई बुझ्न कठिन हुन्छ । उन्माद छ ।”उनले देशको समस्या समाधान नगरी सरकारले के हेरेर बसेको छ भन्दै प्रश्न गरे । “त्यसले देशको समस्या समाधान हुँदैन । त्यो समस्या अर्को रुपमा फेरी बल्झिने छ । त्यसकारण सुकुम्बासी हाम्रा दाजुभाई, दिदीबहिनी हुन । अलि गरिव भए । त्यसो भएर शत्रु घोषणा गरेर तिनीहरुलाई ठोक्नुपर्ने, मानुपर्ने, पराजित गर्नुपर्ने भन्ने कुरा होइन । समस्याको समाधान गर्नु पर्छ । सुकुम्बासी समस्या समाधान गर्न आयोग बनाएर तयार भईसकेको बेलामा सरकार तत्काल फेर्नुपर्ने, आयोग भंग गर्नुपर्ने, अनि त्यो सुकुम्बासी समस्या समाधान आयोग चाँही कहाँ गयो नि । सुकुम्बासी समस्या समाधानका लागि आयोग छ । अर्कोतिर डोजर लगाएर सुकुम्बासीलाई पेलेको छ । अनि किन बनाएको आयोग ? डोजर लिएर जाने हो भने आयोग किन बनाएको, उनीहरुलाई तनाखा खुवाएर किन राखेको ? डोजर किने भयो नि १०/२० वटा । ड्राईभरलाई तालिम दिएभयो डोजर चलाउन । छाप्रा भत्काउन डोजर । अचम्म त के भने–फुसका छाप्रा भत्काउन डोजर । कुनै पक्की बिल्डिङ भत्काउन हो र डोजर ? छाप्रा भत्काउन । मान्छे पेल्न डोजर । त्यहाँ त छाप्रा छन, मान्छे छन्,” उनले भने । अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचन जस्तो नभएको जिकिरसमेत गरे ।निर्वाचनमा शान्तिपूर्ण वातावरणमा जनताले आफनो मत दिनुपर्नेमा सरकारले आतंकको वातावरण सिर्जना गरी जनताको अभिमतलाई आफ्नो पक्षमा पारेको उनको आरोप थियो ।