कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन गर्ने
काठमाडौँ, १४ मंसिर । कालिञ्चोक दर्शन लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दामा निष्कासन गर्नेछ । जारी पूँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्नेछ । आयोजना प्रभावित स्थानीयमा निष्कासन हुने यो आईपीओ छिटोमा मंसिर २८ गते र ढिलोमा पुस १४ गतेसम्म बिक्रीमा रहनेछ । वैदेशिक रोजगारीमा गएका नेपालीले भने मंसिर २८ गतेभित्रै आवेदन दिनुपर्नेछ । दुवै समूहका लगानीकर्ताका लागि यो आईपीओ खरिदमा न्यूनतम १० कित्ताको सीमा तोकिएको छ । स्थानीयले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम १० हजार ८०० कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले दायित्व वहन गर्न सक्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।